
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
पोखरा, ३ साउन/ पोखराका पर्यटन व्यवसायीले वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।
पोखराका पर्यटन व्यवसायीहरूले असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा श्रेष्ठ विरुद्ध उजुरी दिएका हुन् ।
डीएसपी श्रेष्ठले पदको दुरुपयोग गरेर गैरकानूनी काम गरेको उजुरी पत्रमा छ । उजुरीमा श्रेष्ठले प्रहरी जनशक्ति परिचालन गरेर रात्रिकालीन व्यवसायीहरूबाट महिनावारी शुल्क उठाउने गरेको उनीहरुको आरोप छ ।
‘व्यवसायीहरूले डीएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म बुझाउने गरेका छन्,’ उजुरीमा भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ३० गते उजुरी दर्ता भएको बताए ।
व्यवसायीहरूले पैसा माग्ने उद्देश्यले डीएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी साँझ गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारबाहीको नाटक गर्दै आएको आरोप लगाएका छन् । क्लब, डान्सबार र दोहोरीमा हुने झगडाहरूमा प्रहरीले पैसाकै लागि बार्गेनिङ गरिरहेको आरोप छ ।
क्लबभित्र अन्य व्यक्तिको झगडामा पनि प्रहरीले बाउन्सरविरुद्ध जाहेरी दिन लगाएर पीडितलाई उल्टो थुनामा राख्ने गरेको पत्रमा उल्लेख छ । नेपाल भ्रमण आउने भारतीयहरूलाई विभिन्न बहानामा पक्राउ गर्ने र रकम लिएर छाड्ने गरेको उनीहरूको आरोप छ ।
डीएसपी श्रेष्ठमाथि भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारबाही गर्न व्यवसायीको माग छ । यता डीएसपी श्रेष्ठले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् ।
