पोखरा, २९ असार/ पोखरा महानगरपालिका–१९, पुरुनचौर तल्लाकोटमा शुक्रबाररातीको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ ।
पुरुनचौरका कुलबहादुर परियारको घर गएरातिको पहिरोमा पुरिँदा उनको परिवारका ६ सहित सातजनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँचजनाको शुक्रबार साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार भएको उनको परिवारले जनाएको छ ।
पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, श्रीमती ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र भाई बुहारी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो ।
मृतकहरूप्रति श्रद्धाञ्जलीका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जनप्रतिनिधि तथा स्थानीयवासी पुगेका थिए ।
सोही घटनामा मृत्यु भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने कुलबहादुरका छोरी प्रभा र ज्वाइँ अस्मित परियारको दाहसंस्कार गरिएको छैन । अस्मितका बुबा वैदेशिक रोजगारीमा रहेकाले उनी स्वदेश आएपछि मात्र गरिने परिवारजनले जनाएको छ ।
मृतक दुईजनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । कास्कीका तीन छुट्टाछुट्टै स्थानमा गएरातिको पहिरामा परेर ११ जनाको मृत्यु भएको थियो ।