
पोखरा सडक बत्ती र हाइमास्ट बत्तीले झिलमिल तस्बिरः परिचय डटकमबाट
पोखरा, १८ भदौ/ पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हामास्ट बत्तीले झिलमिल भएको छ । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबार साँझ एक साथ २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले पोखरा भित्र विद्युत व्यवस्थापनका लागि धेरै काम सुरु गरिएको जानकारी दिए । उनले पोखरा महानगरले फोहोरबाट विद्युत उत्पादन गर्ने तयारी गरेको जानकारी पाएको भन्दै महानगरले यसरी विद्युत उत्पादन गरे जति उत्पादन हुन्छ त्यो सबै प्राधिकरणले किन्ने प्रतिवद्धता जनाए ।
महानगरका प्रमुख धनराज आचार्यले उज्यालो पोखरा अभियान अन्तर्गतको पहिलो चरण सकिएको र यसलाई सुरुवातको रुपमा लिनुपर्ने बताए । पोखरामा विद्युत वितरण प्रणालीलाई सहज गराउन महानगरको तर्फबाट गर्नुपर्ने सबै काम गर्न आफूहरु तयार रहेको उनको भनाई छ । झ्याप्प झ्याप्प विजुली जानुको कारण महानगरवासीले खोजिरहेको भन्दै विद्युत प्रणाली सुधार गर्नुपर्ने भए सुधार गरेर भएपनि समस्याको समाधान गर्न उनले प्राधिकरणलाई आग्रह गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले क्षेत्रफलका हिसावले देशमै ठूलो महानगर भएकाले खर्च पनि त्यही अनुरुप हुने बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले आफ्नो घर अगाडिको बत्तीको आँफै निगरानी गर्न महानगरवासीलाई आग्रह गरे । पोखराका ३३ वटै वडालाई उज्यालो गराउनुपर्ने भन्दै उनले आगामी दिनमा पनि विद्युत प्राधिकरणसंग निरन्तर सहकार्य गर्ने बताए ।
महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले महानगरले गरेका राम्रा कामलाई राम्रो भन्न र नराम्रो भए सुधारका लागि सल्लाह दिन आग्रह गरे । १४ करोड ६५ लाख रुपैयाँ लगानीमा नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत तिरेर जडान गरीएको हो । ति स्मार्ट बत्ती जडान गर्न टप्सन इनर्जीले ठेक्का पाएको थियो ।
राष्ट्रिय सडक बत्ती प्रवर्द्धन परियोजना प्रमुख प्रमोद रिजालका अनुसार सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएका छन् । उनले जोडिएका हाइमास्ट १६ मिटर अग्ला भएको र त्यसमा प्रत्येकमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको जानकारी दिए ।
पोखरामा जडान गरिएको बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिन्छ । आवश्यकता अनुसार वत्तिको उज्याले घटाउन बढाउन सकिने रिजालले बताए ।
उनले ५ वर्षभित्र बत्तीमा कुनै खराबी आए वा बिग्रिए ठेकेदार कम्पनी टप्सन इनर्जीले नै निशुल्क बनाइदिने सम्झौता छ ।





