
पाल्पामा गुडिरहेको जिपमाथि पहिरो, पोखराका १ सहित ३ जनाको मृत्यु
पाल्पा, १३ भदौ/ पाल्पाको जोर्तेमा सुख्खा पहिरा जादाँ स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय विनोद तिमिल्सिना, गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा र जिल्ला प्रहरी कार्यालय, गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
घाइते बालकसहित ८ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । तानसेन रिडी सडक खण्डको जोर्तेमा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले बिहान जीपको आदी भाग पुरिएको थियो ।
गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जिपलाई पहिरोले पुरेको हो । दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ ।





