
टेकनाथ बराल
पोखरा, १२ भदौ/ वामपन्थी नेता एवं मानवअधिकारवादी नेता टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।
बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष समेत हुन् । सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताए ।
उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती, छोरा, ३ छोरी र नीतिनातिना छन् । उनको शव मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमा राखिने र त्यसपछि दाह संस्कारका लागि शव यात्रा सहित अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
टेकनाथ बराल
व्यक्तिगत विवरण:
- नामः टेकनाथ बराल
- ठेगानाः नुवारथोक, पोखरा-७, कास्की
- जन्म मितिः बि.सं.२०९६।०२।०५ (इ. सं. १९३९।०५।१८ )
- बुबाः डण्डपाणी बराल
- श्रीमतिः हरिकला बराल
- छोरा छोरीहरुः
- छोराः विद्या विमल बराल
- छोरीहरुः शोभा बराल पहारी/ प्रभा बराल पौडेल/ पिंगला बराल पौडेल
राजनीतिक जागरणः
- २००५ साल तिर कानोबाबा नामका हरिप्रसाद पंडित बनारसबाट पोखरा आएका, उनि प्रजातान्त्रिक विचार राख्दथे । उनि राजनीतिक प्रचारको लागि गोप्यरुपमा आएका थिए । उनीलाई पोखरामा गुफाको घरमा राख्न प्रेम चैतन्य भन्ने साधुले होमनाथ दाजुलाई भनेको र उनीलाई गुफाको घरमा राखिएको । गण्डकी क्षेत्र भरीका राणा विरोधी मानिसहरु उनिसंग भेटन आउने गरेको । उनलाई रासनपानी पुर्याउन जाँदा संगत भएको र विभिन्न उदाहरण सहित कानोबाबाले राणा हैकमको बिरोधमा बताउने गरेको । २००७मा उनि ने.का.संग सम्बन्धित भएको बताएको । कानोबाबाबाट निरंकुशताको बिरुध्द र लोकतन्त्रको पक्षमा जागरण प्राप्त भएको ।
- २००७ सालको क्रान्तिको समयमा दाजुहरुको संगतमा तत्कालिन राणाशासनको हैकमको विरोधमा हुने कार्यक्रमहरुमा सहभागी भएको र बाल बिद्रोहिकोरुपमा काम गरेको । कसैले होच्याएर कुरा गर्दा नसहने गरिएको । समाजमा उचनिच हुनु हुदैन भन्ने लाग्न थालेको ।
- २०११।१२ साल तिर स्कूल पढ्दाका साथीहरुसंग लोकतान्त्रिक परिवर्तनको बारेमा चासो, छलफल र नेतृत्व गर्ने गरेको र बिद्रोह गरेको ।
राजनीतिक क्रियाशीलताः
- २००७ सालको राणा बिरोधी आन्दोलनमा केटाकेटीहरुलाई एकिकृत गरी सहभागि भएको ।
- २०१३ सालमा रात्री पाठशाला पढदा छात्र संगठनको अध्यक्ष भएको ।
- २०१४ सालमा ८ कक्षा पढदै गर्दा १ वर्षको नर्मल तालिम लिएको ।
- २०१५ सालमा गोर्खाको बाकु र बारपाकमा पढाएको । यो समयमा त्यो क्षेत्रमा प्रजातान्त्रिक विचारको प्रचार गरेको । गाउका ठालुहरुले स्कूलबाट हटाएको ।
- २०१६ सालमा वालिङ स्याङजामा पढाएको । यो समयमा त्यो क्षेत्रमा प्रजातान्त्रिक विचारको प्रचार गरेको । यहा पनि ठालुहरुले नसहेको र हटाएको ।
- २०१८ देखि २०२१ सालसंम बैदाम तिनौचुरे स्कूलमा पढाएको । यो समय संम बिद्रोहिकोरुपमा देखिएको ।
- पढाउने समयमा जातीय विभेदको विरोध गर्ने गरेको, सो समयमा गोर्खा,स्याङजा कास्कीमा गाउका ठालुहरुले नरुचाएको र आँखि भएको । ठालुहरुसंग विद्रोह गरेको ।
- २०१७ साल पछि नेपाली कांग्रेसका मानिसहरुसंग संगत भएको देखेर पंचहरुको आँखि भएको र बिभिन्न राजनितिक र फौजदारी आरोपहरु लगाउने गरेको ।
- २०१९ सालमा नेपाल युवक संगठनको गण्डकी अन्चल सभापति भएको ।
- २०२१ साल तिर बैदाम स्कूलको हेड मास्टर भएकोले संचालक समिति, शिक्षकहरु र समाजसेवीहरुको मिटिङ भैरहेको समयमा टेलिफोनको तार चोरी भएको आरोपमा सबैलाई अन्चलाधिशले वारेण्ट गरेको र गण्डकी अन्चल निस्कासित गरेको । सचालक समितिमा सबै प्रजातान्त्रिक विचारका साथीहरु थिए ।
- २०२१ मा वारेण्ट भए पछि बनारस गएको । बनारसमा रहेका नेकाका साथिहरु ठालुहरु भएको र उनिहरुको व्यवहार मन नपरेको ।
- बनारसमा संपर्क र व्यवस्थापन नेकपाका नेता बलराम उपाध्यायले गरेको । बलराम उपाध्याय पोखरा बाटुलेचौरका थिए । तर नेकपाका साथिहरुले सुरुमा विश्वास नगरेको । काग्रेसपृष्ठभूमि भएको र काग्रेसहरुसंगै वारेण्ट भएको र जेल बसेको,युबक संगठनको गण्डकी सभापति समेत भएको हुदा नेकपाका साथीहरुले संका पनि गरेका थिए ।
- बनारसमा अध्ययन गरिरहदा सक्रियरुपमा नेकपाको राजनीतिका संलग्न भएको । २०२१ सालमा पुष्पलालको हातबाट नेकपाको पार्टी सदस्यता लिएको ।
- २०२२ साल (सन १९६५)मा बनारसबाट म्याट्रिक पास गरेको ।
- विद्यार्थीहरु वीच काम गर्दै जाँदा लोकप्रिय भएको र नेकाका विद्यार्थीहरुको दवदवा भएको बनारसमा २०२२ सालमा भएको नेपाल छात्र संगठनको चुनावमा पहिलो पटक नेकपाको समुहले जित्यो । त्यसमा सचिवपदमा जितेको ।
- २०२२ सालमा(सन १९६५मा) डिएभी कलेज बनारसमा भर्ना भएको । तर पार्टीको कामको सिलसिलामा पढाइ पुरा नभएको ।
- २०२१साल देखि पुष्पलालको प्रत्यक्ष नेतृत्वमा नेकपार्टीमा काम गरेको । बनारसबाट नेपाल आएर पार्टी गण्डकी र धौलागिरी क्षेक्षमा व्यापकरुपमा संगठन बनाएको ।
- छिन्न भिन्न भएको नेकपालाई एकजुट बनाउदै कास्की, स्याङजा, पर्बत, बाग्लुङ, गुल्मी, तनहु, लमजुङ, गोर्खामा पार्टी कमिटीहरु बनाएको । यतिबेला नेकपा छिन्नभिन्न भएको भएता पनि ४२ जिल्लामा नेकपा पुषपलालसमुह सक्रिय रहेको ।
- पृथ्वीनारायण क्याम्पसमा संगठन बनाएको नेकपाको उमेदवार गणेश शेरचनलाई सभापति जिताएको ।
- २०२३ सालमा नेकपाको काम गरेको आरोपमा पंचहरुले गिरफ्तार गरे । उनिहरुलाई असैह्य भएको थियो । २ बर्ष जेल राखे । २०२५ सालमा जेलबाट रिहा भएको ।
- २०२५ देखि २०२९ संम पार्टी काम अगाडी बढाएको । यतिबेला नेताहरु नेकपा फुटाउन हिडिरहेका थिए । पुष्पलाललाई एक्लाएका थिए ।
- २०२२ साल देखि निरन्तर गुफाको घर नेकपाका नेता कार्यकर्ताको आश्रयस्थल बन्यो ।
- २०२८।२९ मा पार्टीका केहि साथिहरुले सामन्तहरुलाई कार्बाहि गर्ने कुरा गरे । तर जनतालाई दुख दिने काम हुनु हुदैन भनि बिरोध गरियो । स्थानीय तहको पार्टीको सेल कमिटिले कार्बाहि गर्ने निर्णय गरेमा मात्र त्यस्तो कार्बाहि गर्नु पर्छ भन्ने मत राखियो । यसका बावजुद केहि साथीहरुले दुस्साहगरी केहि काण्डहरु (कार्बाहिहरु) गरे । कास्की स्याङजा तनहुमा तहल्का मच्चियो । पंचहरु हिंश्रक बने । थुप्रै साथीहरु पंचहरुको कार्बाहिमा परे । जेल परे । मुद्दामा परे । म पनि वारेण्टेड भए ।
- २०२९ सालमा पंचहरुले पुनः वारेण्ट गरे, देश निकालाको घोषणा गरे । । सकभर देशमा नै रहने भन्दै कास्की तनहु गोर्खाका लेकहरुमा भूमिगतरुपमा बसेर संगठन संचालन गरियो ।
- २०३० सालमा पंचहरुले धेरैनै खोजी गर्न थाले पछि निर्बासनमा बनारस गइयो ।
- २०३० देखि २०३२ संम बनारसमा पुष्पलालसंगै संगठनको काम गरियो । वारेण्ट कायम नै थियो ।
- २०३३ देखि २०३६ साल संम भारतको असाम मेघालय नागालैण्ड राज्यहरुमा नेकपाको संगठनको काम गरियो । शिक्षक भएर काम पनि गरियो ।
- २०३६ सालको आन्दोलनको समयमा निर्बासनबाट नेपाल फर्केको र बहुदलको पक्षमा आन्दोलित भएको संगठन गरेको ।
- २०३६ सालमा काग्रेसका प्राय सबैलाई आममाफि भयो । हाम्रो मुद्दा भने फिर्ता भएन र आममाफी पनि भएन ।
- पुष्पलालको मृत्यु पछि पनि नेपाल फर्किइयो । प्रशासनले वारेण्टलाई सक्रिय गरेन । अर्ध भूमिगत भएर नेपालमा नै रहियो र छरिएर रहेका नेकपाका समुहहरुलाई एकता गर्न पहल गरियो ।
- २०३६ देखि २०४६ सालसम्म फुटेको नेकपालाई जुटाउन धेरैनै कोशिस गरियो । सबै कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउमा ल्याउन प्रयत्न गरियो ।
- २०४६ मा मनमोहन अधिकारी, मदन भण्डारी र जिवराज आश्रीतहरुले बिशेष आग्रह गरे पछि बाममोर्चा गठन गर्न निर्णायक पहल गरेको ।
- बाममोर्चा र नेपाली काग्रेसको संयुक्त मोर्चा बनाउन बिशेष पहल गरेको ।
- २०४६ सालको आन्दोलनमा बाममोर्चाको नेतृत्व गरेको ।
- २०४६ सालमा गण्डकी अन्चलको बाममोर्चाको अध्यक्ष भएको ।
- २०४६ देखि २०५० साल संम बाममोर्चाको अध्यक्ष रहेको ।
- सबै बाम पार्टीहरु एकहुनु पर्छ भन्ने लहर जनतामा भएकोले बाममोर्चाको निरन्तरताको दवाव छदै थियो । तर पार्टीका नेताहरुले चासो राखेनन् । मदन भण्डारीले भने बाममोर्चाको अझै आवश्यकता छ भन्दै यसको निरन्तरताको लागि सहयोग गरेको ।
- बाम पार्टीहरुको एकताको पहल गर्दै गर्दा द्वन्द बढ्दै गएको र केन्द्रमा बाममोर्चा विघटन भएको अवस्थामा २०५१गण्डकी बाममोर्चा पनि विघटन भएको ।
- लोकतान्त्रिक आन्दोलनका शिर्षपुरुष
मानवाधिकार आन्दोलनः
- सामाजिक सुधार मानवाधिकारको आन्दोलनबाट गर्न २०५१ देखि निरन्तर लागिरहेको ।
- २०५१ देखि मानवाधिकार आन्दोलन र निर्बाचन पर्यवेक्षणमा सक्रिय ।
- इन्सेक मानवाधिकार वर्ष पुरुषको उपाधि प्राप्त ।
बिबिधः
- सामाजिक रुपान्तरणमा २००५ साललेखि हालसंम ७३ वर्ष अविच्छिन्नरुपमा सक्रिय ।
- लोकतन्त्र, गणतन्त्र र मानवाधिकारको अथक यात्री ।
- समाज सुधारक ।
- सामाजिक सुधार घरबाट नै गर्नु पर्छ भन्दै छोरीलाई अंश दिने काम गरेको ।
- धार्मिक अंधविश्वासको बिरोधमा खरो गरी अभियानकोरुपमा अगाडि बढेको ।
- सास्कृतिक सुधारको अभियानमा सक्रिय भएको ।





