
पोखरा महानगरका कृषकलाई ४४ लाख अनुदान, आयात प्रतिस्थापनका लागि उत्पादनमा जोडः प्रमुख आचार्य
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु।४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गर्नुभएको हो ।
बाख्रा पालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेका बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको हो । यस प्रकारको अनुदानले कृषकहरूलाई हौसला मिल्ने नगरप्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । “महानगरपालिका कृषकहरूको सहायताका लागि सदैव सकारात्मक छ, प्रमुख आचार्यले भन्नुभयो, महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनु पर्दछ ।” आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरता तर्फ उन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उहाँले आम कृषकहरूलाई अनुरोध समेत गर्नुभयो । कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । “तपाँईहरु उत्पादनमा केन्द्रित हुनुहोस्, उहाँले भन्नुभयो, त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।” उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकहरूलाई निराश हुने वातावरण सृजना नगरिने उहाँले विश्वास दिलाउनुभयो ।
पोखरा महानगरपालिका वडा नं।२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रा पालन व्यवसाय तर्फ कृषकहरूको आकर्षण बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उन्नत जातका बाख्रा पालनबाट कृषकहरूले मनग्य लाभ लिइरहेको बताउँदै उहाँले यसका सरकारी तवरबाट आवश्यक सहयोग तथा सहजिकरणका लागि आफूहरू तयार रहेको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं।२८ का पूर्व वडाध्यक्ष एवं कार्यपालिका सदस्य निर्मल दियालीले अनुदान रकमको सदुपयोगीतामा जोड दिनुभयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा बाख्रा पालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइहरेको बताउनुभयो । बाख्रा पालन प्रति कृषकहरूले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय पशुहरूमा देखिएको समस्या प्रति सचेत रहेको बताउँदै कडरियाले यसको रोकथाम र निदानका सम्भाव्य उपायहरूको उपयोग गरिएको बताउनुभयो ।
भेटेरिनरी अस्पतालका विज्ञ सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकहरूलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । कृषकहरूको समस्या समाधानका लागि आफूहरू निरन्तर खोज तथा निदानका उपायहरूको सहजिकरणमा लागि रहेको उहाँले बताउनुभयो ।
सोमबार वडा नं।१९ का २४ जना कृषकहरूलाई रु ६ लाख २० हजार, वडा नं२० का ३२ जना कृषकहरूलाई रु ७ लाख २० हजार, वडा नं २१ का ४३ जनालाई रु।१० लाख, वडा नं २४ का ३७ जनालाई रु ८ लाख २० हजार, वडा नं २५ का २३ जनालाई रु ४ लाख ८० हजार र वडा नं २८ का ३२ जनालाई ७ लाख ६० हजार गरी १९१ जना कृषकहरूलाई रु ४४ लाख २० हजार नगद अनुदान प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
वडा स्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकहरूले खुसी व्यक्त गरेका छन् । कृषकहरूका समस्याहरू समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमहरूको निरन्तरतामा उनीहरूले जोड समेत दिएका छन् ।
यसैबिच पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र समेत सञ्चालन गरिएको छ । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले उद्घाटन गर्नु भएको हो । वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको हो । सो क्रममा कृषि औजार समेत प्रदान गरिएको छ । हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन्, भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालन गरिएको छ ।





