
पोखरा महानगरपालिका
पोखरा, २५ असार/ पोखराका विभिन्न ठाउँमा सार्वजनिक जग्गा पोखरा महानगरले फिर्ता ल्याउने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा फिर्ता ल्याउन महानगरलाई पत्र पठाएपछि महानगरले जग्गा फिर्ता गर्ने बताएको छ ।
पोखरा महानगर कार्यपालिकाको २० औं बैठकले सबै जग्गा फिर्ता ल्याउने निर्णय गरेको मेयर धनराज आचार्यले जानकारी दिए ।
नेपाल सरकारले सार्वजनिक जमिनको खोजी गर्न र त्यसको संरक्षण गर्न परिपत्र गरेको उनले बताए । ‘साविकका गाविस र नगरपालिकाले विभिन्न व्यक्ति र संस्थालाई दिएको जग्गा फिर्ता ल्याउने निर्णय गरेको छ,’ मेयर आचार्यले भने, ‘सरकारी जग्गा व्यक्ति संघ, संस्थालाई भाडामा लगाउने, अस्थायी घडेरीको रुपमा बसोबास गर्न लगाउने, अन्य व्यापार व्यवसाय गर्नका लागि अनुमति दिने र जग्गा उपलब्ध गराउने काम भएकोले यस्ता प्रकृतिका जग्गाबाट राजश्व नलिने, कागजात नवीकरण नगर्ने, गरिएका निर्णय र प्रमाण खारेज गरेको छ ।’ तत्कालीन समयमा केही व्यक्तिहरु बसेर सहमतिका आधारमा सरकारी जग्गा भोगचलनका लागि बेचेको भेटिएको छ ।
विद्यालयका नाममा पनि जग्गा दिइएको छ । ‘लालपुर्जा दिने अधिकार नेपाल सरकारको मालपोत कार्यालय बाहेक अरुलाई छैन । कार्यपालिका बैठकले पोखरा महानगरको नयाँ मापदण्ड तोक्ने निर्णय गरेको छ । खोला, नदी, नहर सहित भवन उचाई मापदण्ड र सडक मापदण्ड तोक्ने तयारी गरिएको हो । वडाले आवश्यक मापदण्ड र वर्तमान अवस्थाबारे जानकारी गराउने र उपयुक्त मापदण्ड कायम गरिने महानगरले जनाएको छ ।






