
धनराज आचार्य
पोखरा, १० असार/ पोखरा महानगरपालिकालेको नीति तथा कार्यक्रममा मुर्रा राँगो ल्याउने देखी फेवातालको मापदण्डमा परेको संरचना हटाउने सम्म परेका छन् ।
आइतबार पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरामा ५ वटा मुर्रा राँगो ल्याउने पहल गर्ने बताए । सरकारले ल्याएको ५ वटा रांगा पोखरामा ल्याउन पहल गरिने मेयर धनराज आचार्यले बताए ।
५ वटा मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन् केन्द्रमा ल्याउन पहल गरिनेछ उनको भनाई छ । त्यसै गरी सर्वोच्च अदालतले दिएको आदेश बमोजिम फेवातालको ६५ मिटर क्षेत्रभित्र बनेका संरचना हटाउने कार्यक्रममा उल्लेख छ । उनले पोखराको लेकसाइडलाई चौबीसै घण्टा पर्यटकका लागि खुला गरिने उल्लेख छ ।
पोखरा महानगरपालिकामा आउँदो ४ वर्षभित्र जापान सहयोग नियोग (जाइका) को सहयोगमा ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरिने जानकारी दिए । उक्त परियोजनामा ११ अर्व भन्दा बढी खर्च हुने अनुमान छ ।
एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्न ७ अर्व ५० करोड लागतको कार्यक्रम प्रस्तुत गरे । ग्रिन सिटी क्लिन सिटी अवधारणा पुरा गर्ने कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगसँगको सहकार्यमा ६ अर्व लागतको हरित यातायात प्रणाली विकास कार्यक्रमको पनि योजना सुनाए ।
पहिलो चरणमा महानगरको मुख्य सहरी क्षेत्रको २० किलोमिटर सडकमा विद्युत, टेलिफोन, अप्टिकल फाइबर लगायतका तारहरू भूमिगत गर्ने प्रक्रिया सुरु गरिएको महानगरले जनाएको छ ।





