चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो पोखरामा

-


     क्लिक गण्डकी     
     चैत्र २४ गते २०७९ मा प्रकाशित


चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो पोखरामा

चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो पोखरामा

पोखरा, २४ चैत/ चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छन्। चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही शहरमा चलचित्रकर्मी पुग्ने गरेका छन्। प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बहाव’को रेडकार्पेट प्रिमियर भने कास्कीको पोखरामा विहिबार सम्पन्न भएको छ ।

मोफसलका विभिन्न शहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन् । चलचित्र निर्माता श्रीधर पौडेल, कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक र निर्देशक प्रमोद कँडेलको सहभागितामा पोखरामा चलचित्र बहावको रेडकार्पेट प्रिमियर शो भएको प्रचारका संचालक आशिष पुरीले जानकारी गराए । उक्त शो चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा प्रचारसँगै स्पेक्स फोर्टिनले मिडटाउन सिनेमाजमा आयोजना गरेको थियो ।

उपत्यकामा मात्रै भइरहने प्रिमियर शोलाई मोफसलमा समेत गर्नुपर्ने धारणा अनुरुप कार्यक्रम गरिएको चलचित्रका निर्माता श्रीधर पौडेलले जानकारी गराए । आफ्नो जन्मथलो पनि भएकाले प्रिमियरका लागि पोखरा रोजेको उनले उल्लेख गरे ।
“मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोच बनायौँँ। उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रमलाई विस्तारै बढाउँदै लैजानु पर्छ भन्ने धारणा हाम्रो हो”, निर्माता पौडेलले भने । चलचित्र बहाव मार्फत हर परिवार भित्रको यर्थात कथालाई अभिनय मार्फत प्रस्तुत गर्न पाउँदा खुशी लागेको नायिका सुरक्षा पन्तले बताइन । उनी चलचित्रबाट आशावादी छिन ।

यस्तै कलाकार कमलमणि नेपालले आफुले अहिले सम्म गरेका अभिनय भन्दा फरक अभिनय बहावमा गरेको अभिव्यक्ति दिए । उनले चलचित्र बहाव मार्फत समाजको पारिवारिक ऐना झल्काउन खोजिएको उल्लेख गरे । चलचित्रका लेखक तथा निर्देशक प्रमोद कँडेलले ‘बहाव’ दर्शकका लागि नयाँ विषयवस्तु हुन सक्ने बताए । उनले पछिल्लो समयको चलचित्रको ट्रेन्डलाई नै परिवर्तन गर्ने उद्देश्यले ‘बहाव’ को निर्माण गरिएको बताए । पोखराका दर्शकबाट उनलाई ठूलो आशा छ ।

पोखराको पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण टिमले जानकारी गराएको छ । निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडी ‘लुकामारी’ को प्रिमियर पोखरामा गरिएको थियो । चलचित्र ‘बहाव’ को प्रिमियर काठमाडौँमा भने बुधबार आयोजना गरिएको थियो ।



Tags: