पोखरा आर्ट ग्यालरी, पुस्तकालय र सटरमा पोखरा महानगरले चलायो डोजर तस्बिरः सुर्दशन रञ्जित
पोखरा, २३ भदौ/ पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी, पुस्तकालय र ३२ वटा सटरहरु पोखरा महानगरपालिकाले भत्काउन शुरु गरेको छ । पोखरा महानगरपालिका कै स्वामित्वमा रहेको दुई वटा भवन पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो ।
महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितको टोलीले भत्काएको हो । माथील्लो तलामा पुस्तकालय र ग्यालरी भएपनि तल्लो तलामा सटर थिए ।
सटरबाट महानगरले भाडा लिदै आएको थियो । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले भाडा उठाउन सकेको थिएन । ती भवनमा सेती नदीको मापदण्डमा परेका थिए । भवन भएका ठाउँमा पूर्ण रूपमा खालि गराएर सुन्दर पार्क बनाउने योजना रहेको पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले बताए ।
महानगरले त्यहाँका सटर खालि गर्न भन्दै ३५ दिने सूचना निकालेको थियो । सूचना प्रकाशित भएको ३६ औँ दिनमा महानगरले डोजर चलाएको हो । आफ्नै संरचना भत्काएर काम थालेको महानगरले नीजि क्षेत्रका मापदण्ड विपरीत बनाएका भवन भत्काउन के गर्ला हेर्न बाँकी छ ।