करेन्ट
तनहुँ, ३ भदौ/ माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार तनहुँमा बाबु–छोराको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा करेन्ट लागेर आमा घाइते भएकी छिन् ।
विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका नौ महिनाका आदि ब्याम्बो रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् ।
करेन्ट लागेर तीनै जना घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको उनले बताए ।