कास्कीका बाबु–छोरा प्रहरीमा एकैदिन लगाए डीएसपीको फूली

-


     क्लिक गण्डकी     
     श्रावण १९ गते २०७९ मा प्रकाशित


बाबुछोरा एकै दिन डीएसपीमा बढुवा

बाबुछोरा एकै दिन डीएसपीमा बढुवा

पोखरा, १९ साउन/ नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भएका बाबु–छोराले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् ।

तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारीले पनि लगाए । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भएर इतिहास बनाएका थिए ।

बुबासँग एकै दिन डीएसपीमा बढुवा सिफारिस भएका ध्रुव राजेन्द्रभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भएका हुन् । राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना भएका थिए ।

ध्रुवका बुबा राजन २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए । बुबाभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भए पनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डीएसपीमा बढुवा हुने संयोग मिलेको हो । ध्रुव राजेन्द्रका कान्छा छोरा हुन् । २४ वर्षको अन्तरमा प्रहरी सेवामा प्रवेश गरेका बाबुछोरा एकसाथ डीएसपी हुने संयोग मिल्यो ।

राजेन्द्रको सेवा अवधि २ वर्ष बाँकी छ । ३० वर्षे सेवाअवधिका कारण उनी २०८१ मा अनिवार्य अवकाशमा जानेछन् । तर ध्रुवको भने अझै २६ वर्ष सेवा अवधि बाँकी नै छ । राजेन्द्र डीएसपीबाटै अवकाश हुने सम्भावना बढी छ । तर ध्रुव भने अझ माथिल्लो पदमा पुग्ने सम्भावना छ ।



Tags: ,