पोखरामा साउन १७ र १८ मा ‘शास्त्रीय संगीत महोत्सव’
पोखरा, ११ साउन/ पोखरामा साउन १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’ हुने भएको छ । सनातन कला साहित्य कुञ्ज काठमाडौंको आयोजनामा पोखरामा महोत्सव हुने लागेको हो ।
कार्यक्रममा वरिष्ठ सितार वादक प्रा.डा.ध्रवेश चन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्ण प्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुती काफ्ले,तबला वादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बासुरी वादक उमेश पण्डित, पखावज वादक मुकेश शाक्य, तबला वादक निमेश कपालीको प्रस्तुती रहने संस्थाका संस्थापक अध्यक्ष उत्तम रिमालले जानकारी दिए ।
पहिलो दिनको कार्यक्रम पोखरा सभागृहमा र दोस्रो दिन विन्ध्यावासिनाी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा आयोजना गरिने उनले बताए । शास्त्रीय संगीतको उन्नयनका लागि कार्यक्रम गर्न लागेको उनले बताए ।
कार्यक्रममा कलाकार तथा तबला वादक श्यामलाल श्रेष्ठ र गायक विनित जोजिजूले पोखरामा शास्त्रीय संगीतको अवस्था र व्यवसायिकताका बारेमा चर्चा गरेका थिए ।