
बुद्ध एयर
पोखरा, ९ साउन/ बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पृथ्वी राजमार्ग स्तरोन्नति सम्पन्न भएपछि नेपालका प्रमुख आन्तरिक हवाई रुटमा यात्रुको संख्या करिब ४० प्रतिशतसम्म घट्ने बताएका छन् ।
पत्रकार टिकाराम यात्री सँगको अन्तर्वार्तामा बोल्दै उनले पृथ्वी राजमार्ग चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने र त्यसपछि पोखरा–काठमाडौं, भैरहवा–काठमाडौं तथा भरतपुर–काठमाडौं जस्ता प्रमुख रुटमा हवाई यात्रुको चाप उल्लेखनीय रूपमा घट्ने बताए। महेन्द्र राजमार्ग पनि आगामी दुईदेखि तीन वर्षभित्र चार लेनमा विस्तार हुने क्रममा रहेकाले सडक यातायात थप प्रभावकारी बन्ने उनको भनाइ छ।
बस्नेतका अनुसार राम्रो राजमार्ग, विद्युतीय सवारीको बढ्दो प्रयोग र सडक यात्रा सहज बन्दै जाँदा हवाई यात्राले अहिलेको जस्तो बजार कायम राख्न कठिन हुनेछ। यस्तो अवस्था अब न्यू नर्मल भएकाले हवाई कम्पनीहरूले नयाँ रणनीतिसहित प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए।
उनले बुद्ध एयरले तत्काल नयाँ जहाजको संख्या नबढाउने भए पनि अत्याधुनिक ATR 72-600 विमान भित्र्याउने तयारी गरिरहेको जानकारी दिए। नयाँ विमानमा रहेको आधुनिक नेभिगेसन प्रणालीका कारण कम दृश्यतामा पनि सुरक्षित अवतरण गर्न सकिने भएकाले पोखरा लगायतका विमानस्थलमा उडान नियमित बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनबारे बोल्दै बस्नेतले हाल आवश्यक दृश्यता (Visibility) करिब ३,१०० मिटर रहेकामा RNP AR प्रणाली लागू भएपछि यो १,७०० मिटरमा झर्न सक्ने बताए । त्यसो भए मौसमका कारण हुने उडान रद्द तथा डाइभर्सन उल्लेखनीय रूपमा घट्ने र पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको आधार तयार हुने उनको भनाइ छ।
उनले बुद्ध एयरको प्रत्यक्ष नाममा नभई छुट्टै कम्पनीमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी रहेको पनि खुलासा गरे। उनका अनुसार परियोजना व्यावसायिक रूपमा सम्भव भए दैनिक करिब ३० वटा उडान सञ्चालन गर्ने लक्ष्य राखिएको छ। सम्भावित गन्तव्यमा मकाउ, चीन, दक्षिण भारत तथा मध्यपूर्वका विभिन्न सहर रहने उनले बताए।





