पोखरामा क्रिसमस र अंग्रेजी नयाँ वर्षको तयारीमा पर्यटन व्यवसायी

-


     क्लिक गण्डकी     
     मंसिर १० गते २०८३ मा प्रकाशित


पोखरामा क्रिसमस र अंग्रेजी नयाँ वर्षको तयारीमा पर्यटन व्यवसायी

पोखरामा क्रिसमस र अंग्रेजी नयाँ वर्षको तयारीमा पर्यटन व्यवसायी

पोखरा, ९ मंसिर । क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै पोखराका पर्यटन व्यवसायीले तयारी सुरु गरेका छन्। विशेषगरी लेकसाइड क्षेत्रलाई आकर्षक रूपमा सजाउने, सांगीतिक कार्यक्रम आयोजना गर्ने र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजनासहित व्यवसायीहरू जुटेका छन्।

क्रिसमसको तयारीस्वरूप पोखराका ठूला होटलमा केक मिक्सिङ कार्यक्रमसमेत आयोजना गरिएको छ। क्रिसमसमा पाहुनालाई विशेष स्वादको केक खुवाउने उद्देश्यले होटलहरूले करिब एक महिनाअघि नै केक मिक्सिङ सुरु गरेका हुन्।

विभिन्न प्रकारका सुक्खा फलफूल, ड्राइफ्रुट्स, नट्स तथा मसलासँग वाइन लगायतका पेय प्रदार्थ मिसाएर केक तयार गर्ने प्रक्रिया सुरु गरिन्छ। क्रिसमस केक मिक्सिङ कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, कर्मचारी र पाहुनाले सहभागिता जनाए ।

होटल बराहीका आवासीय प्रबन्धक होमनाथ आचार्यका अनुसार केक मिक्सिङ गरेर तयार पारिएको मिश्रणलाई करिब एक महिनासम्म सुरक्षित राखी क्रिसमसका लागि विशेष केक तयार गरिन्छ। क्रिसमसअघि तयार पारिएको केक पाहुनालाई प्रदान गरिने उनले बताए ।

क्रिसमसले पर्यटकलाई पोखरामा रमाउने अवसर दिने भए पनि अंग्रेजी नयाँ वर्षमा आयोजना हुने पोखरा सडक महोत्सवले पर्यटकलाई पोखरामै थप समय बिताउने वातावरण बनाउने रेबान पोखराका अध्यक्ष वसन्त गौतमले बताए ।

टेम्पल ट्रि रिसोर्टका सञ्चालक समेत रहेका गौतमले क्रिसमसका लागि केक मिक्सिङ गरेको र नयाँ वर्षका लागि सडक महोत्सवको तयारी भइरहेको बताए। महोत्सवमा प्रस्तुत गरिने विभिन्न सांस्कृतिक कार्यक्रम, लेकसाइड क्षेत्रको सजावट, प्रचारप्रसारका काम अघि बढाइएको उनले बताए।

यसैबीच पोखराका होटल तथा रेस्टुरेन्टले क्रिसमस र नयाँ वर्षका लागि विशेष खानाका परिकार, सांगीतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिको तयारी गरिरहेका छन्। होटल, रेस्टुरेन्ट र बारहरूमा विशेष सजावटसहित पाहुनालाई आकर्षित गर्ने तयारीमा छन् । पर्यटकको आगमन बढाउनुका साथै होटल, रेस्टुरेन्ट, मनोरञ्जन र अन्य पर्यटन व्यवसायमा समेत चहलपहल बढाउने अपेक्षा व्यवसायीको छ ।