
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
पोखरा, १० साउन/ कास्की प्रहरीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ९ गते दिउँसो करिब ४ः३० बजे माछापुच्छ्रे गाउँपालिका–१ टुसेस्थित सुरेश परियारको घरमा अवैध घरेलु हतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरमा डेरा गरी बस्दै आएका म्याग्दी मंगला गाउँपालिका–१ स्थायी घर भएका हाल पोखरा महानगरपालिका–१ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभा मकालु गाउँपालिका–३ स्थायी घर भएका हाल माछापुच्छ्रे गाउँपालिका–१ घाचोक बस्ने २२ वर्षीय सुदिप विश्वकर्मा बस्ने कोठाबाट काठ र फलामबाट बनेका ट्रिगरसहितका दुई वटा घिर्नी तथा तार जडान भएका अवैध घरेलु हतियारजस्तो देखिने यन्त्र बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद भएका सामग्री पलङको पछाडिपट्टि बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।





