
पोखरामा अनलाइनबाट ठगी गर्ने भारतीय नागरिक सहित दुई जना पक्राउ
पोखरा, ९ साउन – एसिया र युरोपका विभिन्न देशमा भ्रमण गराइदिने तथा आकर्षक उपहार र रोजगारीको प्रलोभन देखाएर अनलाइन माध्यमबाट ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा भारतीय नागरिक सहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–५ प्रस्याङस्थित पुष्पेन्द्र कोइरालाको घर भाडामा लिएर सञ्चालन गरिएको कार्यालयमा छापा मार्दा कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, शान्तिनगरका ३० वर्षीय Mohammed Yasheer पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरूले “Oasis Tourism International” नामक संस्था स्थापना गरी युवायुवतीलाई एसिया र युरोपका विभिन्न देशमा घुमाउने तथा रोजगारी दिलाउने प्रलोभन देखाउँदै अनलाइन र फोनमार्फत सम्पर्क गर्ने गरेका थिए। त्यसपछि “3N/4D Holiday Voucher Fill & Win” र “Register & Win Assured Gift” लेखिएका कुपन भराएर विभिन्न व्यक्तिबाट रकम उठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार हालसम्म ३० जनाबाट करिब रु. ९ लाख ६५ हजार असुलिएको खुलेको छ। साथै १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर उक्त अवैध गतिविधिमा संलग्न गराइएको समेत प्रहरीले जनाएको छ।
छापामार कारबाहीका क्रममा प्रहरीले २ थान कम्प्युटर तथा मनिटर, ८ थान विभिन्न रजिस्टर तथा रेकर्ड बुक, ६ थान कुपन रसिद, ४ थान स्ट्याम्प छाप तथा विभिन्न व्यक्तिको नाममा काटिएका कुपनका अर्धकट्टीहरू बरामद गरेको छ।
घटनाका सम्बन्धमा पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।





