
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि छुट्टै कम्पनी खोल्ने तयारीमा बुद्ध एयर
पोखरा, ९ साउन/ बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पत्रकार टिकाराम यात्रीसँगको अन्तर्वार्तामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न छुट्टै कम्पनी स्थापना गर्ने तयारी भइरहेको बताएका छन्।
बस्नेतका अनुसार बुद्ध एयरले तत्काल जहाजको संख्या नबढाए पनि अत्याधुनिक ATR 72-600 विमान भित्र्याउने तयारी गरेको छ। आधुनिक नेभिगेसन प्रणाली जडित यी विमानले कम दृश्यतामा पनि सुरक्षित अवतरण गर्न सक्ने भएकाले पोखरा लगायतका विमानस्थलमा उडान नियमित बनाउन सहयोग पुग्ने उनको विश्वास छ।
उनले हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आवश्यक दृश्यता (Visibility) करिब ३,१०० मिटर रहेकामा RNP AR प्रणाली लागू भएपछि यो १,७०० मिटरसम्म झर्न सक्ने बताए। यसले मौसमका कारण हुने उडान रद्द तथा डाइभर्सन उल्लेखनीय रूपमा घट्ने र नियमित अन्तर्राष्ट्रिय उडानको आधार तयार हुने उनको भनाइ छ।
बस्नेतका अनुसार बुद्ध एयरको प्रत्यक्ष नाममा नभई छुट्टै कम्पनीमार्फत पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिनेछ। परियोजना व्यावसायिक रूपमा सम्भव भए दैनिक करिब ३० वटा उडान सञ्चालन गर्ने लक्ष्य राखिएको छ। सम्भावित गन्तव्यमा मकाउ, चीन, दक्षिण भारत तथा मध्यपूर्वका विभिन्न सहर रहेका छन्।





