नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सहारा एकेडेमी मैदान रग्बीको लागि निरिक्षण तस्बिरः सुर्दशन रन्जित
पोखरा, ७ साउन /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप खेल व्यवस्थापन समितिले पोखरा भित्र निर्माणाधिन खेलकुद पूर्वाधारको अध्ययन थालेको छ । खेल व्यवस्थापन समितिले शनिबार पहिलो पूर्वाधारको रुपमा सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी खेल मैदान अवलोकन ग¥यो ।
खेल व्यवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, समितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली लगायतको टोली अवलोकन गरेको हो ।
३९ वर्षपछि पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समितिले रग्बीको लागि सहारा एकेडेमीको खेल मैदान उपयुक्त भएको ठहर गरेको छ । ‘सहारा एकेडेमीको खेल मैदानमा रग्बी खेलाउने प्राथमिकतमा राखेका छौं ।’ खेल व्यवस्थापन समितिका संयोजक गुरुङले भने–‘रग्बीसँगै महिला हक्कीको लागि समेत मैदान उपयुक्त देखिन्छ ।’
सहारा एकेडेमीको मैदानमा खेलाडी चेन्जिङ रुम छ । एउटा चेन्जिङ रुम छ । त्यसले पर्याप्त नहुने जनाइएको छ । मैदानलाई लेभल बनाउन आवश्यक पाँगो माटो भरेर सम्याउन समेत संयोजक गुरुङले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ लगायत क्लबका अन्य पदाधिकारीलाई आग्रह गरे ।
पोखरा रंगशालादेखि सहारा एकेडेमी झण्डै ७ किलोमिटरको दुरीमा छ । बजार क्षेत्रभन्दा केही शान्त बातावरण रहेको छ । मैदान ९० मिटर लम्बाई र ६८ मिटर चौडाईको छ । रग्बीको ७ (सेभेन्स) हुन्छ । रग्बी पहिलो पटक प्रतियोगितामा समावेश गरिएको हो । सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले सहारा एकेडेमीको मैदानलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा उपलब्ध गराउने स्पष्ट पारे ।
रग्बी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको छ । नेपालले केही दिन अघि मात्रै बंगलादेशमा गएर रग्बी १५ को औपचारिक खेल खेलेर फर्किएको छ । रग्बी खेल प्रतिको चासो उत्तिकै छ । नवौंमा समावेश गरिएको रग्बीलाई कहाँ खेलाउने भन्ने पीरलो उस्तै छ । रग्बीको लागि फुटबल मैदानकै साईजको मैदान आवश्यक पर्छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी ७(सेभेन्स) खेलाईने छ । ‘पोखरा रंगशालाको फुटबल मैदानमा उदघाटन र समापन गर्ने योजना छ ।’कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले भने–‘खेलहरु भने कहाँ खेलाउने भन्ने समस्या छ ।’ रग्बीको लागि पोखरा–३३ भरतपोखरीस्थित शिशुुकल्याण स्कुलको खेल मैदानलाई दीर्घकालिन मैदान बनाउने विषयमा समेत छलफल अगाडि बढाईएको छ ।
रग्बीको लागि प्रशिक्षणस्थल नै छैन् । प्रशिक्षणको लागि फुटबल मैदान नै आवश्यकता पर्ने हुदाँ फुटबल मैदान खाली भएको अवस्थामा मात्रै प्रशिक्षण गराउनुपर्ने बाध्यता रहेको उनको भनाई थियो । प्रशिक्षणकै अभाव छ । आफनै मैदान नहुदाँ खेलाडी व्यवस्थापनमा कठिनाई हुने गरेको अनुुभव उनको थियो । रग्बीको लागि ७० मिटर चौडाई र ११० मिटर लम्बाईको मैदान आवश्यक पर्छ । जहाँ रग्बी १५ खेलाईन्छ ।
खेलाडी न्युज डटकमबाट