प्रतिष्ठानलाई छुट्याएको बजेट अन्य क्षेत्रमा खर्च गर्ने – मुख्यमन्त्री पोखरेल

-


     क्लिक गण्डकी     
     असार २८ गते २०७९ मा प्रकाशित


कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा, २८ असार/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आर्थिक वर्ष २०७९/८० को बजेटमा बाबुको नामको प्रतिष्ठानमा बजेट छुट्याउने निर्णयको बचाउ गरेका छन् । नागरिकस्तरबाट विरोध भएपछि प्रतिष्ठानमा छुट्याएको रकम प्राथमिकताको अन्य क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेका थिए ।

मंगलबार गण्डकी प्रदेशसभाको बैठकमा उनले राष्ट्र र व्यवस्था परिवर्तनका लागि योगदान दिएका व्यक्तिको सम्मानमा प्रदेशले बजेट बिनियोजन गरेको बताएका थिए ।

मुख्यमन्त्री पोखरेलका बाबु गोवद्र्धन शर्माको नाममा पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले गोवद्र्धन शर्मा आफ्नो बाबु मात्र नभई प्रजातन्त्र स्थापना र पञ्चायतविरुद्ध अन्दोलनमा सक्रिय योद्धा रहेको बताए ।

मुख्यमन्त्री पोखरेलका बाबुको नामको प्रतिष्ठानसँगै प्रदेश सरकारले सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठको बुबाआमा पुननारायण, धनकुमारी श्रेष्ठको नाममा रहेको ट्रस्टका लागि दुई फरक फरक शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

कांग्रेस नेता अर्जुनप्रसाद जोशीका बाबुको नाममा २० लाख रुपैयाँ परेको छ भने सत्तारुढ दल राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापा र उनको श्रीमानको नाममा खुलेको प्रतिष्ठानमार्फत काम गर्न ६० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

कांग्रेसका स्वर्गीय नेता डिल्लीराम लामिछानेको नाममा खुलेको प्रतिष्ठानलाई प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको थियो । जनता समाजवादी पार्टीकी सांसद धनमाया लामाको आफन्तको नाममा ५० लाख र माओवादी सांसद विनोद केसीको परिवारका सदस्यको स्मृति भवन बनाउन ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।

अनेरास्ववियु र युवा संघले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै प्रदेशसभा अगाडि मंगलबार प्रर्दशन गरेका थिए । नागरिक समाजले विरोध गरेका थिए भने विद्यार्थी संगठनले मुख्यमन्त्री र मन्त्रीको प्रतिष्ठानलाई १ रुपैयाँ दान गर्ने अभियानै चलाएर सडक प्रदर्शनसमेत गरेका थिए ।



Tags: , ,