तेक्वान्दो
पोखरा, २२ जेठ/ नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले ५० देशका खेलाडीले सहभागीता जनाउने बताए ।
प्रतियोगितामा ५० देशका १ हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवार सहित २ हजार भन्दा बढी विदेशी खेलाडी पोखरा आउने बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिए ।
विश्व तेक्वान्दो संघले मान्यता प्राप्त गरेको ७२ खेल खेलाइने भएकोले सहभागी संख्या अझै बढ्न सक्ने उनको भनाई छ । जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् । नेपालको परिवेसमा सबैभन्दा बढी मेडल जित्न सफल हुदै आएको छ । दीपक बिष्ट, संगीना बैद्य, सपना मल्ल जस्ता थुप्रै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिता सफल हुने उनले बताए ।
प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति गठन भएको उनले बताए । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्र सेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायी समेतको ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन भइसकेको छ ।
प्रतियोगिताले पोखरामात्र नभइ नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकको रहेको छ । यसअघिका वर्षमा काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो ।