कास्कीकोटमा माटो परिक्षण तथा बाली उपचार शिविर
पोखरा, ९ जेठ/ हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा पोखरा महानगरपालिका कृषि महाशाखा तथा वडा नम्बर २४ को कार्यालयको सहकार्यमा माटो परिक्षण तथा बाली उपचार शिविर सञ्चालन भएको छ । कास्कीकोटका विभिन्न भेग समेटिने गरि जम्मा ७२ बटा नमूना माटो संकलन भएकोमा ल्याव परिक्षणवाट आजै नतिजा निकालिएको छ ।
नतिजा अनुसार अधिकांशमा अम्लियपना बढी देखिएको हुँदा हरेक नमूनाको पीएचको स्केल अनुसार रिपार्ट तयार पारी उपचारका लागि कृषि चुनको मात्रा समेत उल्लेख गरि सम्बन्धित कृषकलाई उपलब्ध गराइएको थियो ।
त्यसै गरि सिजन अनुसारको मकैमा लागेको फौजी किरा अर्थात गवारो, गोलभेडामा लागेको डडुवा, काँक्रोको फल कुहिने, सेतो धुले ढुसी तथा डाउनी मिल्ड्यु, औंसा, सिमीबोडीमा लाही लाग्ने, खुर्सानीका पातहरुको खाद्यतत्वको कमी लगायतका समस्याहरुको समाधानका लागि जैविक विशादी तथा फेरोमन ट्रयापहरु निःशुल्क रुपमा वितरण गरिएको थियो ।
बाली उपचारका लागि प्राप्त ४० वटा नमूनाले कास्कीकोटमा रहेका अन्य कृषकका समान प्रकृतिका वालीहरुको प्रतिनिधित्व गर्ने राय बालीरोग विशेषज्ञ धनवहादुर रानाले दिनुभयो । कार्यक्रमका लागि माटो तथा मल परीक्षण प्रयोगशाला, गण्डकी प्रदेशले सहयोग गरेको थियो । कृषि महाशाखा प्रमुख मनोज कडरियाले विभिन्न समस्या लिएर आएका कृषकहरुसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।
माटो परिक्षण गरेपछि अनिवार्य उपचार गरे मात्रै कार्यक्रमको सार्थकता रहने उल्लेख गर्दै महाशाखा प्रमुख कडरियाले कृषि चुना खरिदका लागि कृषकहरुलाई आंशिक अनुदान समेत उपलब्ध गराउन सकिने जानकारी गराउनुभयो । सञ्जालका कार्य समिति सदस्य विक्रम अधिकारी संयोजक रहेको उक्त शिविरमा कृषि प्राविधिक पुनम कुँवरको समेत उपस्थिति रहेको थियो ।