सार्थक जीवन

-


     क्लिक गण्डकी     
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


एउटा सहरमा एकजना चित्रकार बस्थे। उनको नाम थियो राम। रामले एउटा सुन्दर तस्बिर बनाएर एउटा चल्तीको चोकमा राखे। चित्रको मुनि लेखिएको थियो ‘यो चित्रमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लगाइदिनुहोस्। 

जब उनले साँझ उक्त चित्र हेरे, पूरै चित्रभरि सबै ठाउँमा चिनो लागेर चित्र नै खराब भइसकेको थियो। यो देखेर उनी अत्यन्त दुःखी भए। के गर्ने सोच्नसम्म नि सकेनन्। दिक्क मनेर बसिरहेका थिए। त्यत्तिकैमा एकजना स्वामी त्यहीँ बाटो भएर कतै जाँदै थिए। चित्रकार रामलाई त्यस्तो हालतमा देखेर स्वामीले कारण सोधे। रामले पूरै घटनाको बेलिबिस्तार लगाए।

यो सुनेर स्वामीले भने, ‘तिमी एउटा काम गर, भोलि अर्को चित्र बनाएर यहीं राख तर, मुनि यो लेख कि ‘यस चित्रमा जसलाई जे नमिलेको जस्तो लाग्छ, त्यसलाई मिलाएर जानुहोला। चित्रकारले भोलिपल्ट त्यसै गरे। साँझ हेर्दा चित्र जस्ताको त्यस्तै थियो। कसैले छुनसम्म पनि छोएनन्। उनी संसारको प्रवृत्ति र नियति बुझ्न समर्थ भयो।

नैतिक शिक्षा ः खोट निकाल्नु, निन्दा गर्नु, कुरा काट्नु, आलोचना गर्नु, उपदेश दिनु, सम्भव छैन भन्नु, धेरै सजिलो छ। यस्तो प्रतिक्रिया दुनियाँको जस्तोसुकै सामान्य नागरिकले पनि दिन सक्छन्। तर समस्या चिनेर सही समाधान गर्नु सबैको बसको कुरा हुँदैन। यही नै जिन्दगीको सच्चाइ हो। सबैले दिने र कसैले लिन नचाहने एउटै कुरो छ, त्यो हो ‘सल्लाह’।



This will close in 10 seconds