पोखरामा सस्तो पसलः चिनी तानातन्, नुन फालाफाल्

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०८० मा प्रकाशित


नुन

नुन

पोखरा, २८ असोज/ पोखराको साल्ट ट्रेडिङमा दसैँ र तिहारलक्षित सुपथ मूल्यको पसल सञ्चालनमा छ । अघिल्ला वर्षहरुमा जस्तो उपभोक्ता बजारबाट चर्को मूल्यमा सामान खरिद गर्न बाध्य भएको भन्दै सरकारले नै निम्न तथा मध्यम वर्गीय नागरिक लक्षित सुपथ मूल्यको पसल सुरु गरेको छ ।

पोखराको डिपोमा नुन, चिनी, चामल, मल, तेललगायत सामान बेच्नका लागि खुलेको पसलमा उपभोक्ताको सबैभन्दा बढी माग चिनीमा छ । तर चिनी पाइदैन । बजारमा चिनीको नपाइने र पाएको ठाउँमा पनि मूल्य आकासिएपछि उपभोक्ताहरु पृथ्वीचोकस्थित ट्रेडिङमा किन्नका लागि पुगेपनि नपाएपछि त्यसै फर्किन्छन् ।

अधिकांश उपभोक्ताहरु चिनीकै लागि ट्रेडिङ छिर्ने गरेको साल्ट ट्रेडिङका सूचना अधिकारी सागर शेरचनले बताए । चिनी किन्न आएका उपभोक्ताहरु नुनमात्रै बोकेर फर्किने गरेका छन् । चिनीको मूल्य होलसेलमै ९७ रुपैयाँ भन्दा बढी पर्छ । उपभोक्ताले बजारबाट किन्दा १ सय २० देखी १ सय ३० सम्म तिर्न बाध्य छन् ।

देशभर ट्रेडिङले २१ असोजदेखि ४३ जिल्लाका ९८ ठाउँमा सुपथ मूल्यको पसल चलाएको छ । चिनी आयात नै नभएकोले ट्रेडिङसम्म नआउन शेरचनले बताए । नुन १८ रुपैया, तोरीको तेल १ लिटरको ३ सय ७०, २५ केजी जिरा मसिनो चालम २१ सय रुपैया, २५ केजी सोना चामल १७ सय ८० रुपैयामा विक्रि गर्दै आएको उनले बताए । यो वर्ष उपभोक्तालाई सुविधा दिन चामल र तेल समेत विक्री गरिएको उनको भनाई छ ।

ट्रेडिङले साविक गण्डकी अञ्चलका जिल्लाहरुमा नुन र मल सप्लाई गर्दै आएको छ । अघिल्लो वर्ष मात्रै ९० हजार ९ सय ८६ क्वीन्टल नुन ५ वटा जिल्लामा खपत भएको ट्रेडिङले जनाएको छ । मनाङ र मुस्ताङमा सरकारले आयोडिनयुक्त बाक्लो नुन (भानु नुन) पठाउँछ । मनाङमा ३ सय र मुस्ताङमा ५ सय क्वीन्टल नुन खपत हुन्छ ।

यस बाहेक यहाँबाट मल खपत बढी हुन्छ । डीएपी, पोटास र युरियासहित अघिल्लो वर्ष ५० किलो दरका ५४ हजार २ सय ५३ बोरा मल विक्री भएको शेरचनले जानकारी दिए ।



Tags: