
पोखरा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु
पोखरा, २५ असोज/ पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि कँडेलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत काठमाडौं लगिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट काठमाडौंको बिएन्डबी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनीसहित १५ जना घाइते भएका थिए । ४ विद्यार्थी सहित ५ जनाको निधन भएको थियो ।
ज्यान गुमाएका ममता तिवारी, सुभेच्छा तिवारी र असिम कँडेलको आइतबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ । दुर्घटनापछि पीडित परिवारका तर्फबाट माझठानाबासीले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी निवेदन दिएपछि प्रहरीले अस्पताललाई पत्र लेखेको थियो । त्यसपछि मृतकको पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको हो ।
दुर्घटनापछि पीडित पक्ष र कालिका बोर्डिङ स्कुलका सञ्चालक बीच सहमति भएपछि मृतकको पोस्टमार्टम र दाहसंस्कारको प्रक्रिया अघि बढेको थियो ।
विद्यालयले मृतकका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने र घाइतेको उपचार गर्ने सहमति भएको छ । दुर्घटनामा ज्यान गुमाएका ६५ वर्षे बाबुराम तिवारी र रेनुका नेपालीको भने अन्त्येष्टि पछि गरिने भएको छ । परिवारका सदस्य विदेशमा भएकाले उनीहरु आएपछि अन्त्येष्टि गरिने तयारी छ ।
पोखरा महानगरपालिका–२८ ओख्लेमा शुक्रबार बिहान माझठानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।







