
दुर्घटना
पोखरा, २७ असोज/ पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१, सिमपानी निवासी ३७ वर्षीया सरिता तामाङ रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार साँझ पोखरा महानगरपालिका–२७, तालचोकमा बाटो काट्दै गरेकी तामाङलाई ग २० प ५९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक पोखरा महानगरपालिका–३०, शिशुवा निवासी २४ वर्षीय मनोज सुनारलाई नियन्त्रणमा लिएको छ।







