
गण्डकी प्रदेशका दुई सहित टेनिसका चार खेलाडी एशियन खेलकुदमा छनोट
पोखरा, २९ जेठ/ गण्डकी प्रदेशबाट चार जना खेलाडी एशियन खेलकुदमा छनोट भएका छन् । १९ औं एशियन खेलकुदमा लन टेनिस खेलाडी प्रदिप खड्का, अभिषेश बास्तोला पुरुषतर्फ छनोट भएका हुन । यस्तै महिलातर्फ अभिलाषा विष्ट र माहिका राणा छनोट भएका छन् ।
चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९ औं एसियन गेममा गण्डकीका प्रदिप र अभिषेश छनोट भएका हुन् । प्रदिप नवौं राष्ट्रिय खेलकुदमा समेत गण्डकीलाई तीन स्वर्ण दिलाएका थिए । यस्तै साफ च्याम्पियनसिपमा समेत नेपाललाई पदक दिलाएका थिए ।
एसियन गेममा टेनिस तर्फ पदक आउने प्रवल सम्भावना समेत रहेको छ । एसियन गेमका लागि छनोट हुन पाउँदा निकै खुसी लागेको प्रदिपले बताए । उनले एसिएन खेल्ने आफ्नो सपना पुरा हुने दिन आएको सुनाए । ‘यो मेरो ड्रिम हो । पहिलो पटक खेल्दैछु’ प्रदिपले भने, ‘तीन महिनाको कष्टकर मिहेनतको फल मिलेको छ । अब देशलाई पदक दिलाउन लाग्नेछु ।’ प्रदिपले अभिषेश विदेशमा खेलेर आएकाले आफुले धेरै कुरा सिक्ने मौका पाएको समेत बताए । ‘अभिषेक नेपालको प्रशिक्षण भन्दा फरक प्रशिक्षणबाट आएको खेलाडी हो । यस पटक केहि राम्रो हुने आशा पनि गरेको छु ।’ उनले भने । नेपालले टिम इभेन्ट, मेन्स सिगंल र मेन्स डबल, वुमन सिगंल, वुमन डबल्समा प्रतिस्र्धा गर्नेछन् ।
प्रदीप र अभिषेश आफ्नै खर्चमा काठमाण्डौंमा रहेका छन् । ‘खर्च निकै महंगो छ । प्रति घण्टाको दरले रकम दिनुपर्छ ।’ उनले भने । एक खेलकर्मीका अनुसार गण्डकीको खेलाडी जो पदकको सम्भावना बोकेपनि प्रदेश तथा स्थानीय सरकारले केहि नगरेको गुनासो पोखे । उनले प्रदिपजस्ता खेलाडीलाई प्रदेशले लगानी गर्न आवश्यक रहेको समेत सुनाए ।
‘प्रदेश सरकारलाई त थाहा पनि छैन होला गण्डकीको खेलाडी एसिएन गेममा छनोट भएको कुरा । प्रदेश सरकारमा त पहुँच हुनेवालाले मात्रै सेवा सुविधा लिन सक्छन् । टिम इभेन्टलाई मात्रै हेर्ने दृष्टिकोण छ’ खेलकर्मीले भने,‘यो खेल पदकको सम्भावना भएको खेल हो । यो पटक त अझ गण्डकीका दुई खेलाडी छन् भलै अभिषेकले प्रदेशको प्रतिनिधित्व गरेर खेलेका छैनन् तर उनको घर गण्डकी नै हो ।’ छनोट भएका खेलाडी अब तीन महिना बन्दसत्रमा रहनेछन् ।





