
पृथ्वीचोकमा युवालाई लुटेरा शैलीमा खानतलासी गर्ने दुई जना पक्राउ
पोखरा, १० मंसिर/ पोखराको पृथ्वीचोकमा एक युवालाई रोकेर लुटेरा शैलीमा खानतलासी गर्ने दुई जना पक्राउ परेका छन्।
तीन जनाले एक युवालाई रोकेर खानतलासी गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको थियो।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त घटना मंसिर ७ गते पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा भएको पत्ता लगाएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–८ जाल्पारोडका ३६ वर्षीय यामु रानाभाट र पोखरा–९ पृथ्वीचोक बसपार्कका २६ वर्षीय अर्जुन नेपालीलाई मंसिर ९ गते पोखरा–६ अन्नपूर्ण गल्लीबाट पक्राउ गरेको जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।







