पोखरा १२ मा प्लास्टिक व्यवस्थित गर्न परियोजना कार्यान्वयनका लागि सम्झौता

-


     क्लिक गण्डकी     
     चैत्र १५ गते २०७९ मा प्रकाशित


पोखरा १२ मा प्लास्टिक व्यवस्थित गर्न परियोजना कार्यान्वयनका लागि सम्झौता

पोखरा १२ मा प्लास्टिक व्यवस्थित गर्न परियोजना कार्यान्वयनका लागि सम्झौता

पोखरा, १५ चैत/ पोखरा महानगरपालिका वडा नम्बर १२ मा प्लास्टिक व्यवस्थित वडा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल (सीईईएन) र पोखरा महानगरपालिका वडा नं १२ (पीएमसी) बिच सो परियोजना कार्यान्वयनको सम्झौता गरिएको हो ।

वडा स्तरमा प्लास्टिक जन्य फोहर न्यूनीकरणको मोडेल विकासका लागि ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) मार्फत युएनडिपी नेपालको आर्थिक सहयोग तथा कार्यान्वयनको रूपमा सीईईएनले यस परियोजनाको नेतृत्व गर्नेछ । ब्लु वेस्ट टु भ्यालु प्रालि (बीडब्लुटुभी) र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रा।लि ९जीआरडब्लुएम० ले यस परियोजनाका लागि सीईईएनको प्राविधिक साझेदारका रूपमा काम गर्नेछन् ।

परियोजना अन्तरगत ठोस फोहर मैला व्यवस्थापनको वर्तमान परिदृश्य, प्लास्टिकको प्रयोग र प्रयोग हुने प्लास्टिकका वस्तु लगायत प्लास्टिक प्रति मानिसको धारणा सम्बन्धमा प्रारम्भिक तथ्याङ्क सङ्कलन, समुदायमा आधारित शून्य प्लास्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयन, प्लास्टिक प्रयोग न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन तथा अन्य वातावरण अनुकूल स्थानीय सामग्रीहरूको प्रवर्द्धन सहित प्लास्टिकजन्य सामग्रीहरू प्रतिस्थापन गरिनेछ ।

यस्तै समुदायमा आधारित शून्य प्लास्टिक फोहोर व्यवस्थापन कार्यान्वयन गर्न तुलनात्मक डेटाको लागि वडा नं १२ का किराना पसलहरूमा पर्यावरण–अनुकूल कपास झोला र बायोडिग्रेडेबल ब्यागहरूमा अनुदानको व्यवस्था र पीईटी बोतलको खपत कम गर्न वडामा पानीका बोतल रिफिल गर्न मोबाइल पिउने पानीको व्यवस्था पनि मिलाइनेछ ।

प्लास्टिक रोकथामका लागि कार्य योजना बनाउने, प्रयोगबाट प्राप्त निष्कर्षका आधारमा विभिन्न प्रकारका प्लास्टिकजन्य फोहरको न्यूनीकरण, पुनः प्रयोग, पुनः प्रयोग र विसर्जन तथा सरोकारवाला निकायहरू नगरपालिका, वडा र सम्बन्धित संस्थासँग सहकार्य गरी वडाद्वारा उत्पादित प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन गर्ने नीति समेत अवलम्बन गरिने सम्झौतामा उल्लेख छ ।

यसमा प्लास्टिकजन्य फोहर न्यूनीकरण सम्बन्धी पुस्तिका तथा अन्य सम्बन्धित सचेतनामूलक सामग्री वितरण पनि गरिनेछ । सम्झौता अनुसार बहुउद्देश्यीय स्रोत पुनप्र्राप्ति केन्द्रको स्थापना, फोहर मैला व्यवस्थापन मोडेलको प्रदर्शन, सानो सभा हल र नमुना ड्रप–अफ केन्द्र पनि सञ्चालन गरिनेछ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनाले प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै वडाको शून्य प्लास्टिक फोहोर व्यवस्थापनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “सहरको स्वच्छता प्रवर्द्धनका लागि प्लास्टिक प्रयोग गर्ने बानीलाई त्याग्नु पर्दछ, प्रमुख आचार्यले भन्नुभयो, अहिले वास्तव मै प्लास्टिक नै वातावरणीय प्रदुषणको मुख्य कारक बनेको छ ।” प्लास्टिकको प्रयोगलाई अन्त्य गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धनको अभियानमा सामेल हुन उहाँले आग्रह समेत गर्नुभयो ।

स्रोत मै फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा बेलाबखतमा सहरका सडकहरू दुर्गन्धित हुने गरेको बताउँदै उहाँले सकेसम्म फोहोरको उत्पादन कम गर्न र उत्पादित फोहोरको उचित व्यवस्थापन गर्न सुझाव समेत दिनुभयो । महानगर पालिकालाई सुन्दर बनाउने आम नगरवासीको समेत दायित्व हुने भन्दै प्रमुख आचार्यले पर्यटकीय नगरीमा मानवीय सभ्यताको प्रतिकुल हुने गरि वातावरण प्रतिको निर्ममता स्वभनिय नहुने स्मरण गराउनुभयो ।

पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले वडाको विकास, स्वच्छता र नागरिक सेवाको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दातृसंस्थाहरूको सहयोगमा वडामा सञ्चालन गर्न लागिएको यस परियोजनालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो ।



Tags: ,