अर्जेन्टिनालाई विश्वकप २०२२ उपाधि, मेस्सी सर्वोत्कृष्ट खेलाडी, एमबाप्पेलाई गोल्डेन बुट

-


     क्लिक गण्डकी     
     पौष ४ गते २०७९ मा प्रकाशित


अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ उपाधि

अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ उपाधि

एजेन्सी – साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २–२ र थप ३० मिनेटमा ३–३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि चुम्न सफल भयो ।

अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

अतिरिक्त समयको १ सय ९ औं मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाए । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाएपनि रिबाउन्डमा मेस्सीले गोल गरे । मेस्सीको प्रहार जुल्स कुन्डेले क्लियर गरेपनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।

अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुनः बराबरी गोल फर्कायो । किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र गोन्जालो मोन्टिएलले ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एमबाप्पेले गोलरक्षक मार्टिनेजलाई विपरित दिशामा पठाउँदै खेल बराबर गरे ।

मेस्सी सर्वोत्कृष्ट खेलाडी

फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

लिओनेल मेस्सी
लिओनेल मेस्सी

कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।


गोलरक्षक मार्टिनेजलाई गोल्डेन ग्लोभ अवार्ड

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए ।

एमिलियानो मार्टिनेज

अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए ।


एमबाप्पेलाई गोल्डेन बुट


फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भए ।

किलीयन एमबाप्पे

उनले फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ ।



Tags: , , ,