
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य
पोखरा, ६ मंसिर/ विश्वप्रसिद्ध यात्रा प्रकाशन संस्था लोन्ली प्लानेटले सन् २०२७ मा एसियामा घुम्नका लागि उत्कृष्ट गन्तव्यहरूको सूचीमा पोखरा ११औँ स्थानमा परेको छ ।
‘२५ बेस्ट प्लेसेस टु भिजिट इन एसिया इन २०२७’ शीर्षकको सूचीमा नेपालबाट पोखरा समावेश भएको छ। सूचीमा जापानको ओकिनावा पहिलो, चीनको चेङ्दु दोस्रो र भारतको गुजरात तेस्रो स्थानमा छन्। भियतनामको दानाङ चौथो, लाओसको लुआङ प्राबाङ पाँचौँ स्थानमा छन्।
पोखरालाई हिमालको मनोरम दृश्य, फेवाताल, प्राकृतिक सौन्दर्य र पदयात्रापछि आराम तथा पुनर्ताजगी लिन उपयुक्त गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ। ताल किनारको वातावरण, मन्दिर, बजार, क्याफे तथा स्थानीय आतिथ्य पोखराका आकर्षणका रूपमा उल्लेख गरिएको छ।
पोखरा सूचीमा ११औँ स्थानमा रहँदा भारतको जयपुर १०औँ, श्रीलंकाको एल्ला १२औँ तथा सिंगापुर १३औँ स्थानमा छन्। भुटानको पारो १८औँ र जापानको टोकियो २५औँ स्थानमा समावेश छन्।
लोन्ली प्लानेटको यो सूचीले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप प्रचार तथा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।







