पोखरा २३ मा बोलेरो दुर्घटनाः एकको मृ*त्यु, १२ जना घाइते

-


     क्लिक गण्डकी     
     कार्तिक २७ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २६ कात्तिक/ कास्कीको पोखरा महानगरपालिका–२३ डुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका अन्य १२ जनाको पोखरास्थित जीएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गए राति करिब ९ः४० बजे पर्वतको पैयुँ गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङले चलाएको ग ४ च १३४४ नम्बरको बोलेरो जिप घाटीछिनाबाट पोखरातर्फ आउने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा पोखरा–२३ घाटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली तथा कार्कीको तगराका १४ वर्षीय अमित सुनार, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई टाउको, आँखा, हात, खुट्टा, छाती तथा ढाडमा चोट लागेको छ। केही घाइतेलाई भित्री चोट लागेको छ भने केहीले टाउको र छाती दुखेको बताएका छन्।

दुर्घटनापछि प्रहरीले जिप चालक टोकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन गरेको र सवारी चालक अनुमतिपत्रसमेत भएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।