
पोखरामा पर्यटकालाई भाइटिका
पोखरा, २४ कात्तिक/ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा कात्तिक २५ गते १९ औं भाइटिका महोत्सव आयोजना गर्ने भएको छ ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सवको उद्धेश्य रहेको उनले बताए ।
महोत्सवप्रति विदेशी पर्यटकको आकर्षण र सहभागिता बढ्दै गएको र कतिपय पर्यटक दोहोर्याएर समेत टिका लगाउन आउने गरेका छन् । यस वर्षको महोत्सवमा एक सय हाराहारी पर्यटकले भाइटिका लगाउने अनुमान संघको रहेको छ ।
महोत्सवमा तिहार पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे पर्यटकलाई जानकारी गराइने छ । सो अवसरमा सेलरोटी लगायतका परम्परागत परिकार खुवाउने तथा देउसी–भैलोको पस्तुती पनि रहने छन् ।







