
देउसी–भैलो उत्सवमा पुन समाज पोखरा च्याम्पियन
पोखरा, २४ कार्तिक/ पोखरामा आयोजित देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको अवसरमा पोखरा–६, लेकसाइडमा आयोजित ‘मौलिक देउसी–भैलो उत्सव तथा प्रतियोगिता’ मा सहभागी १० समूहलाई पछि पार्दै पुन समाज च्याम्पियन बनेको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको पुन समाज पोखराले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। नेपाली मौलिक लोकसंस्कृति तथा परम्परागत देउसी–भैलोको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा तथा पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोके टेलिभिजनको संयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय ओझेलमा पर्दै गएको भन्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक देउसी–भैलोको संरक्षणसँगै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताए। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले नेपाली चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए।
प्रतियोगितामा सहभागी ११ वटै समूहले परम्परागत भेषभूषामा सजिएर नेपाली मौलिक भाका, शब्द, लय र तालमा देउसी–भैलो प्रस्तुत गरेका थिए। समूहहरूको मूल्यांकन मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा गरिएको थियो।
प्रतियोगितामा सहभागी सबै समूहलाई नेपाली परम्पराअनुसार दानदक्षिणासहित बिदाइ गरिएको थियो। उनीहरूलाई चामल, फलफूल, सेलरोटी, नगद ५ हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो।
पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले उत्सवमा स्थानीय समूहसँगै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य सहभागिता रहेको बताए। नेपाली मौलिक देउसी–भैलो विदेशी पर्यटकका लागि नयाँ र रोचक अनुभव बनेको उनको भनाइ थियो।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। पोखरालाई प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने उनको भनाइ थियो।







