
मन्त्रीले घुस मागेको आरोप, ३ सदस्यीय छानबिन समिति गठन
पोखरा, ४ असोज/ पोखराको नदिपुरमा रहेको पद्म नर्सिङ होमलाई ५० शय्याबाट सय शय्याको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन भएको आरोप सार्वजनिक भएपछि नेकपा एमाले गण्डकीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
एमाले गण्डकी प्रदेश सभा संसदीय दलले १५ दिनभित्र घटनाको तथ्य र सत्य छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेशसहित समिति गठन गरेको हो ।
दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा संसदीय दलका सदस्य तथा संसदीय बोर्ड सदस्य बेदबहादुर गुरुङ र एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी सदस्य छन् ।
एमाले प्रदेश सभा संसदीय दलको कार्यालयले २०८३ असोज ४ गते जारी गरेको पत्रमा पद्म नर्सिङ होमलाई १०० शैयाको अस्पताल सञ्चालन अनुमति दिने विषयमा आर्थिक सौदाबाजी भएको समाचार सार्वजनिक भएपछि दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
तत्कालीन स्वास्थ्य मन्त्री तथा एमालेका प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलको संलग्नता सम्बन्धी विषयमा समाचार सार्वजनिक भएको उल्लेख गरिएको छ । समितिलाई आवश्यक कार्यादेश समेत दिएर छानबिनको काम अघि बढाइएको एमालेले जनाएको छ ।
पद्म नर्सिङ होमको १०० शैयाको अस्पताल सञ्चालन अनुमति प्रक्रियामा तत्कालीन स्वास्थ्य मन्त्री पाण्डे, उनका स्वकीय सचिव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको भूमिकामाथि प्रश्न उठाउँदै यसअघि अनुसन्धानात्मक सामग्री सार्वजनिक भएको थियो।
सामग्रीमा अस्पतालको क्षमता विस्तारको अनुमति दिलाउने क्रममा २० लाख, २५ लाख हुँदै ३० लाख रुपैयाँसम्मको रकमबारे कुराकानी भएको दाबी गरिएको थियो ।
अस्पतालको खाताबाट यादव पौडेलको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरणसमेत सार्वजनिक गरिएको थियो । पौडेलले भने आफूले उक्त रकम नलिएको र आफ्नो नाममा चेक किन काटियो भन्ने आफूलाई जानकारी नभएको दाबी गर्दै आएका छन् ।
तत्कालीन स्वास्थ्य मन्त्री पाण्डेले आफूले कुनै रकम नलिएको बताएका छन् । उनले अस्पतालले आवश्यक मापदण्ड पूरा गरेको भए नियमअनुसार अनुमति दिनुपर्ने पक्षमा आफू रहेको दाबी गरेका छन् ।







