
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा ४ जनाको उम्मेदवारी, अरु पदमा को को ?
पोखरा, ८ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन मार्फत नयाँ नेतृत्व लिनका लागि ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
भदौ २० र २१ गते हुने निर्वाचनका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेद्वारी दर्ता गराएका छन् । उनीहरुमध्ये गौतम र आचार्य प्यालन सहित चुनावी मैदानमा होमिएका छन् ।
अध्यक्षका लागि उम्मेद्वारी दर्ता गर्ने बुद्धाचार्य वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन् । आचार्य अहिलेको समितिमा वाणिज्यतर्फका उपाध्यक्ष हुन् भने गौतम महासचिव हुन् । पोखरेल यसअघि अध्यक्ष पदमा दुईपटक पराजित भइसकेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि गौतम प्यानलबाट टीकाराम सुवेदी र आचार्य प्यानलबाट दिनेशचन्द्र बास्तोलाले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष उद्योग तर्फ सौगात थापा र ललितबहादुर कुँवरको उमेद्वारी परेको छ । गौतम प्यानलबाट थापा र आचार्य प्यानलबाट कुँवरले उमेद्वारी दिएका हुन् । उपाध्यक्ष वाणिज्य तर्फ गौतम समूहबाट भीम गौतम र आचार्य समूहबाट मनोजकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
महासचिव पदमा गौतम तर्फबाट तारानाथ ढुंगाना र आचार्य समुहबाट सुदिप प्रधानांगले उमेद्वारी दिएका छन् । यस्तै, कोषाध्यक्षमा गौतम समूहबाट जीवनप्रकाश श्रेष्ठ र आचार्य समूहबाट देवेन्द्र प्रजु चुनावी मैदानमा छन् । उप–महासचिव पदमा गौतम समुहबाट यादवप्रसाद पोखरेललाई अघि सार्दा आचार्यले प्रदीप राजभण्डारीलाई अघि बढाएका छन् । उपमहासचिवमा रामचन्द्र तिमिल्सिना स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् ।
१० जना सदस्यका लागि १४ जनाले मनोनयनपत्र लगेपनि एकनारायण गौतमको विषयमा प्राविधिक त्रुटि भएपछि १३ जनाले मनोनयन दर्ता गरेका छन् । सदस्यमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल प्रतिस्पर्धामा छन् भने औद्योगिक सदस्यका लागि पिताम्बर अधिकारीको उम्मेदवारी परेको छ । वस्तुगतबाट ४ जना र औद्योगिकबाट १ जना सदस्य निर्वाचित हुन्छन् ।
संयोजक अधिकारीका अनुसार मंगलबार दिउँसो १ बजेसम्म दावी बिरोधको समय तोकिएको छ । भदौ ११ गते ४ बजेसम्म नामावली फिर्ताको समय रहेको छ । ४ बजे नामावली फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने उनले बताए ।





