स्थानीय उत्पादन प्रवद्र्धनमा पोखराको प्रयास, सयपत्रीको बीउ, कफी र सुन्तला खेतीमा पनि प्रोत्साहन

-


     क्लिक गण्डकी     
     असार ३१ गते २०८३ मा प्रकाशित


स्थानीय उत्पादन प्रवद्र्धनमा पोखरा महानगरको प्रयास, सयपत्रीको बीउ, कफी र सुन्तला खेतीमा पनि प्रोत्साहन

स्थानीय उत्पादन प्रवद्र्धनमा पोखरा महानगरको प्रयास, सयपत्रीको बीउ, कफी र सुन्तला खेतीमा पनि प्रोत्साहन

पोखरा ३१ असार / स्थानीय उत्पादन प्रवद्र्धन गर्दै तिहारका बेला बाहिरबाट आउने फूलको आयात घटाउने उद्देश्यसहित पोखरा महानगरपालिकाले सञ्चालन गर्दै आएको फूल खेती प्रवद्र्धन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ।

विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रमले स्थानीय कृषकलाई उत्पादन बढाउन र आम्दानी गर्न सहयोग पुगेको महानगरले जनाएको छ।

महानगरपालिकाले बुधबार कृषकको मागका आधारमा १६५ जना कृषकलाई १८१ प्याकेट सयपत्री फूलको बीउ वितरण गरेको छ। फूल खेतीका लागि आवश्यक १५८ थान मल्चिङ प्लास्टिक समेत उपलब्ध गराइएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा आयोजित कार्यक्रममा कृषकलाई फूल खेती सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो।

पोखरा महानगरपालिकाको आर्थिक महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार तिहार आउन अझै ११३ दिन बाँकी रहेकाले यो अवधिलाई पूर्ण रूपमा सदुपयोग गर्न कृषकलाई समयमै खेती सुरु गर्न आग्रह गरिएको छ। उनका अनुसार बिहीबारसम्म बीउ जमाइसक्नुपर्ने र बीउ जमाएको २० देखि २५ दिनभित्र खेतमा सारेर रोप्नुपर्ने हुन्छ। समयमै रोपाइँ गरे मात्रै तिहार लक्षित उत्पादन सम्भव हुने उनले बताए।

कडरियाले सयपत्री खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सार्वजनिक सूचना जारी गरेर आवेदन माग गरिएको जानकारी दिए। यस वर्ष ५०० प्याकेट बीउका लागि आवेदन परेको भए पनि उपलब्ध स्रोतका आधारमा पहिलो चरणमा १८१ प्याकेट बीउ वितरण गरिएको उनले बताए।

फूल खेतीसँगै महानगरले कफी खेती गर्ने कृषकलाई पनि प्रोत्साहन गरेको छ। कम्तीमा १०० बिरुवा रोप्ने कृषकलाई प्रति बिरुवा ५० रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ। यस कार्यक्रमअन्तर्गत ५० जना कृषकले ९ हजार ७ सय वटा कफीका बिरुवा रोपेका छन्।

त्यसका लागि महानगरले ४ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ। प्राविधिक टोलीले खेतमै पुगेर अनुगमन गरेपछि मात्रै प्रोत्साहन रकम वितरण गरिएको कडरियाले जानकारी दिए।

त्यसैगरी पोखरा महानगरपालिका–२१ र २२ का सुन्तला किसानलाई पनि विशेष सहयोग गरिएको छ। गत वर्ष असिनाबाट बाली जोगाउन जाली वितरण गरेको महानगरले यस वर्ष पुराना बोट हटाएर नयाँ बगैंचा स्थापना गर्ने कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा उपलब्ध गराएको छ।

यस कार्यक्रमअन्तर्गत २९ जना कृषकलाई १ हजार ४१ वटा बिरुवा निःशुल्क वितरण गरिएको छ भने ५० प्रतिशत अनुदानमा झण्डै ३ हजार बिरुवा वितरण गरिएको छ। यसका लागि महानगरले १ लाख ४२ हजार ९ सय ८५ रुपैयाँ खर्च गरेको जनाएको छ।

महानगरले फूल, कफी र सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै स्थानीय उत्पादन बढाउने, कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

महानगरका अनुसार यस्ता कार्यक्रमले स्थानीय उत्पादन वृद्धि हुनुका साथै तिहारजस्ता चाडपर्वमा बाह्य बजारमा निर्भरता घटाउन समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ।