
विश्व अटिजम दिवसको अवसरमा वन्डरल्याण्ड प्रिस्कूलमा जनचेतनामूलक कार्यक्रम
पोखरा, १९ चैत / हरेक वर्ष अप्रिल २ का दिन विश्वभर विश्व अटिजम जनचेतना दिवस मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य अटिजम भएका व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, उनीहरूको अधिकारको संरक्षण गर्नु तथा समावेशी समाज निर्माण गर्नु हो।
यसै अवसरमा पोखरास्थित वन्डरल्याण्ड प्रि-स्कूल परिसरमा “April Autism Awareness & Acceptance Month” अन्तर्गत जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। “Light It Up Blue” अभियानअन्तर्गत निलो रंगमार्फत अटिजमप्रति समर्थन, समझदारी र एकताको सन्देश प्रवाह गरिएको थियो। वन्डरल्याण्ड प्रि-स्कूलको शैक्षिक दर्शन (philosophy) बालबालिकालाई समान अवसर प्रदान गर्दै उनीहरूको व्यक्तिगत क्षमता पहिचान गरी विकास गर्नेमा केन्द्रित रहेको छ।
यहाँ प्रत्येक बालबालिकालाई फरकपनसहित स्वीकार गर्दै माया, सम्मान र समावेशीतामा आधारित वातावरण प्रदान गरिन्छ। विद्यालयकी प्रधानाध्यापिका सीता पन्थीले आफ्नो मन्तव्यमा अटिजम भएका बालबालिकालाई बुझ्ने र उनीहरूलाई साथ दिने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले अभिभावक र समाजलाई अझ सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, अटिजम सम्बन्धी अभिभावक तथा प्रशिक्षक शर्मिला ओलीले यस दिवसको महत्वबारे प्रकाश पार्दै अटिजम भएका बालबालिकालाई प्रारम्भिक चरणदेखि नै उचित मार्गदर्शन, माया र सहयोग आवश्यक हुने बताउनुभयो। उहाँले यस्ता बालबालिकामा विशेष क्षमता पनि हुने भएकाले उनीहरूलाई अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका निर्देशक मुक्ति राजले सबै बालबालिका समान भएको र प्रत्येक बालबालिकालाई आफ्ना भावना व्यक्त गर्ने पूर्ण अधिकार रहेको कुरा उल्लेख गर्नुभयो। उहाँले छिट्टै वन्डरल्याण्ड प्रि-स्कूलमा अटिजम विशेष कक्षा (Autism Section) सञ्चालन गर्ने योजना रहेको जानकारी गराउँदै यसले विशेष आवश्यकता भएका बालबालिकाका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। अटिजम एक न्यूरो-विकाससम्बन्धी अवस्था हो,
जसले सामाजिक व्यवहार, संचार र सिकाइ प्रक्रियामा फरकपन ल्याउन सक्छ। तर, उचित सहयोग, समावेशी वातावरण र सकारात्मक दृष्टिकोण भएमा यस्ता बालबालिकाले पनि आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्न सक्छन्। अन्ततः, अटिजम भएका व्यक्तिहरूलाई फरक होइन, समान अधिकार भएका समाजका सदस्यका रूपमा स्वीकार्नु नै साँचो जनचेतना हो। “स्वीकार्यता नै परिवर्तनको आधार हो” भन्ने सन्देशसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।





