
आधा सिलिण्डर ग्यास बजार पठाउने निर्णय फिर्ता लिन एलपी ग्यास बिक्रेता संघको माग
पोखरा, ३० फागुन/ पोखराको बजारमा ग्यास आपूर्ति तथा वितरणको अवस्थाबारे अनुगमन गर्दा पोखराका केही ग्यास डिलरमा अनियमितता भएको जिल्ला प्रशासन कार्यालयले फेला परेको छ।
आपूर्ति व्यवस्थापन सम्बन्धी समन्वय बैठक पछि जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित टोलीले पोखराका विभिन्न स्थानका पाँच वटा ग्यास डिलरको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा तीन वटा ग्यास डिलरमा ग्यासको मौज्दात तथा अभिलेख विवरण स्पष्ट नराखिएको पाइएको छ भने एक डिलरमा ३२४ थान ७.१ केजी ग्यास सिलिन्डर झारदैै गरेको पाएको छ ।
त्यस्तै भण्डारी ट्रेडर्समा उपभोक्तालाई वितरण नगरी ग्यास होल्ड गरेर कृत्रिम अभाव सिर्जना गर्ने तथा एक सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने सार्दै गरेका उपकरण सहित तीन थान ग्यास सिलिन्डर फेला परेको जिल्ला प्रशासन कार्यालयले कास्कीले जनाएको छ ।
उपभोक्ता हितविपरीत भएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा भण्डारी ट्रेडर्समा रहेका ४८ थान १४.२ केजी र २६ थान ७.१ केजीका एलपी ग्यास सिलिन्डर उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गर्न निर्देशन दिइएको छ।
ग्यासको परिमाण परिवर्तन गर्ने, एक सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने जस्ता गतिविधि नगर्न सम्बन्धित व्यवसायीलाई प्रशासनले सचेत गराएको छ।





