
नेपालको लामो झोलुङ्गे पुल सुस्तामा, राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन
नवलपरासी, ११ असोज/ राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताएका छन् ।
उनले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्दै पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा खुसी पनि ब्यक्त गरे ।
डबल स्प्यानको सो झोलुङगे पुल १५७१ मिटर लामो छ। यो झोलुङ्गे पुल नै नेपालका सबै भन्दा लामो पुल बनेको छ । यस अगाडी नेपालमा कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा १४५२.५ मिटर लामो झोलुङ्गे पुल पुल थियो ।
राष्ट्रपति पौडेलले पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भई अत्यावश्यक सेवा छोटो समयमै लिन सकिने अवस्था सिर्जना भएको पनि बताए ।





