
पोखराको काठेसाँघु वा साँघुकोमुख कसरी भयो महेन्द्रपुल तस्बिर- सामाजिक सञ्जाल
पोखराको इतिहाससँग जोडिएको यो तस्बिर महेन्द्रपुलको पुरानो स्वरूप हो। अहिले महेन्द्रपुल र रानीपौवा जोड्ने स्थानलाई पहिले काठेसाँघु वा साँघुकोमुख भनेर चिनिन्थ्यो। त्यतिबेला वारपार गर्न काठको साँघु तर्नुपर्ने भएकाले यस क्षेत्रको नाम नै त्यसैबाट रहन गएको हो।
वि.सं. २०१४/१५ सालतिर के।आई। सिंहको नेतृत्वमा पुल निर्माणको पहल भएपछि तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्च नगेन्द्रबहादुर रायमाझी र वडाहाकिम भूदेव राई को सल्लाहमा तत्कालीन राजा महेन्द्रको नाममा पुल निर्माण गर्ने निर्णय गरिएको थियो। पुल निर्माणको ठेक्का कृतिबहादुर केसीले पाएका थिए।
करिब तीन दशकसम्म पोखरेलीको दैनिकी र आवागमनको मुख्य आधार बनेको यो पुलले पोखराको विकास यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्यो। समयसँगै जनसंख्या र सवारी साधनको चाप बढ्दै गएपछि पुराना संरचनाको ठाउँमा नयाँ र फराकिला पुल निर्माण हुन थाले।
पछि विसं २०५० सालतिर रामघाट र रानीपौवा जोड्ने उद्देश्यले महेन्द्रपुललाई क्रेनको सहायताले स्थानान्तरण गरिएको थियो। तर बढ्दो यातायातको आवश्यकता अनुसार त्यहाँ पनि अहिले आधुनिक र भव्य पुल निर्माण भइसकेको छ।
यद्यपि, पोखराको विकास र इतिहासको साक्षी बनेको यो पुरानो महेन्द्रपुलको आफ्नै ऐतिहासिक महत्व र स्मरणीय योगदान रहेको छ।
(रविन्द्र माकाजु)





