
पोखरामा चाङ्गान नेभो क्यू ०५ सार्वजनिक
चाङ्गानको विद्युतीय एसयूभी नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ । एमएडब्लू वृद्धी अटोकर्प प्रालिले पोखरामा एक कार्यक्रम आयोजना गरी नेभो क्यू०५ सार्वजनिक गरेको हो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम, नाडाका पूर्वअध्यक्ष धुर्वबहादुर थापा, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका उपाध्यक्ष निरन केसी, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख ढाकाराम शर्मा, डीपलका ब्रान्ड एम्बेसडर तथा अभिनेता प्रदीप खड्का लगाएतले सार्वजनीक गरे ।
नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विद्युतीय एसयूभीका रूपमा ल्याइएको क्य ू०५ मा १२० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले डब्लुएलटीपी परीक्षणमा ४०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत १२.९ किलोवाट आवर प्रतिएक सय किलोमिटर रहेको छ ।
कम्पनीका अनुसार क्यू०५ मा सीएटीएल ब्याट्री सेलसहित ‘गोल्डेन सिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको छ । यसको ३सी फास्ट चार्जिङ प्रणालीले उपयुक्त परिस्थितिमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सक्ने जनाइएको छ । गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ ।
क्यू०५ मा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन उपलब्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेभो क्यू०५ सार्वजनिकसँगै पोखरामा चारदिने टेस्ट ड्राइभ कार्यक्रम पनि आयोजना गरिएको छ । असोज ३ देखि ६ गतेसम्म चाउथेस्थित डीपल पोखरा शोरुममा ग्राहकले गाडीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।







