
मोदीखोलाको बाढीले भत्काएको वीरेठाँटी सडक सञ्चालनमा, घान्दुक जाने बाटो खुल्यो
पोखरा, ३ असोज/ साउन २२ गते मोदीखोलामा आएको बाढीका कारण भत्किएको अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीको सडक पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ।
शुक्रबार देखी सडक सञ्चालनमा आएपछि पर्यटकीय क्षेत्र घान्दुक, विरेठाटी, उल्लेरी लगाएका क्षेत्र सडक सञ्जालमा जोडिएको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताए । पर्यटकी सिजन शुरु हुन थाल्दा बाटो बाढीले बगाउदा पर्यटन व्यवसायीहरु चिन्तित थिए । अन्नपुर्ण बेसक्याम जाने मुख्य बाटो नै यही हो ।
अन्नपूर्ण गाउँपालिकाका ८, ९, १० र ११ का लागि मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग जोडिने लाइफलाइन सडकको मुख्य नाका वीरेठाँटीमा सडक बाढीले बगाएपछि ती वडाहरू सडक सञ्जालबाट विच्छेद भएका थिए।
अन्नपूर्ण गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाहरूको समन्वय सहयोगमा सडक पुनर्निर्माण गरिएको हो।
सडक पुनर्निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको अन्नपूर्ण प्रकोप व्यवस्थापन कोषमा विभिन्न स्थानीय तह, संघसंस्था, राजनीतिक दल, आमा समूह तथा देश–विदेशमा रहेका विभिन्न संस्थाले सहयोग गरेका थिए ।
पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले आवश्यक ग्याबिन तारजाली उपलब्ध गराएको थियो। ग्याबिन भर्ने काममा नेपाली सेनाका ४५ जनाले भदौ १० गतेदेखि असोज २ गतेसम्म श्रमदान गरेका थिए। सडक पुनर्निर्माण अभियानमा राजनीतिक दलहरूले समेत सहयोग गरेका छन्।
नेकपा एमालेले २१० घनमिटर ग्याबिन जाली भर्ने बराबरको १ लाख ६८ हजार १ सय रुपैयाँ सहयोग गरेको अध्यक्ष केसीले बताए । उनल त्यसै गरी नेपाली कांग्रेसले ६५ घनमिटर र राष्ट्रिय स्वतन्त्र पार्टीले १५ घनमिटर ग्याबिन भरेको बताए । सडक पुनर्निर्माण सम्पन्न भएपछि गाउँपालिकाले कार्यक्रम गरेर नेपाली सेनाको टोलीलाई बिदाइ गरेको छ ।







