
जिपिए ४ ल्याउने १३ विद्यार्थीले मदरल्याण्ड रोज, पूर्ण छात्रवृत्तिमा ८ विद्यार्थी यस वर्ष अमेरिका
पोखरा, ५ साउन /मदरल्याण्ड माविका कक्षा ११ का विद्यार्थी स्वागत एवं अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा क्याप्टेन विजय लामाले जीवनमा सधैं थ्रि–डी (डिस्सिप्लिन, डेडिकेटेट र डिभोसन) मा ध्यान दिनुपर्ने सुझाव दिए ।
उनले अरुले गरेभन्दा अझ माथि पुग्छु भन्ने लक्ष्य राख्नुपर्ने बताए । कलाकारसमेत रहेका क्याप्टेन लामाले नेपालको कुल जनसंख्याको साढे १ प्रतिशतले पनि नेपाली फिल्म नहेर्ने गरेको विडम्बना पस्के । समाज, रीतिरिवाज, संस्कृति चित्रण गर्न सक्ने माध्यम फिल्म भएकोले नेपाली चलचित्रलाई माया गर्नुपर्नेमा जोडदिए ।
कार्यक्रममा प्रिन्सिपल डा. नारायण बरालले मदरल्याण्ड सबैको रोजाइको विद्यालय बन्दै गएकोमा खुसी व्यक्त गरे । विद्यालयले गत वर्ष कक्षा १२ मा नेपाल टप गरेको र भर्खरै एसइईमा १० जनाको ४ जिपिए आएको स्मरण गर्दै उनले आगामी दिनमा पनि हरेक क्षेत्र र तहमा उत्कृष्ट नतिजा ल्याउन विद्यालय परिवार लागिपर्ने प्रतिबद्धता जनाए ।
व्यवस्थापन समिति अध्यक्ष एवं एकेडेमिक डिन प्रेमनारायण पोख्रेलले विद्यार्थीका सिकाइ र जीवनोपयोगी हुनु पर्ने बताए । विद्यालय निर्देशक डा. त्रिभुवन शर्माले कक्षा ११ र १२ को महत्वबारे प्रकाश पारे ।
विद्यालय निर्देशक डा. शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्लस टु इन्चार्ज नारायण आचार्य र सञ्चालन शिक्षक बामनकुमार घिमिरेले गरेका थिए । यस वर्ष मदरल्याण्ड कक्षा ११ (विज्ञान र व्यवस्थापन संकाय) मा करिब ४ सय विद्यार्थी भर्ना भएका छन् । तीमध्ये ४ जिपिए ल्याउने मदरल्याण्डकै १० जना र अन्य विद्यालयबाट आएका ३ जनासमेत छन् ।
मदरल्याण्डबाट ४ जिपिए ल्याएका कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभिस वाग्ले, युनिका ढकाल र समीक्षा पहारी सहित लमजुङको युनिभर्सल स्कुलकी आयुष्मा गुरुङ, पोखरा शान्ति निकेतनकी अदिती पराजुली र डिज्नील्याण्डकी सृष्टि भण्डारीले कक्षा ११ मा विज्ञान विषय पढ्न मदरल्याण्ड नै रोजेका हुन् । उनीहरु सबैलाई विद्यालयले सम्मान गरेको छ ।
हालै अमेरिकाका विभिन्न विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाउन सफल ८ विद्यार्थीलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा सन्देश कोइराला, कृतज्ञ श्रेष्ठ, सन्ध्या थापा, आयुश बास्तोला, आयुश पौडेल, सुजन तिमिल्सिना, राजेश पौडेल र पुष्पराज भट्टराई हुन् । प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार यस वर्ष मदरल्याण्डका विद्यार्थीहरुले विदेशका विभिन्न विश्वविद्यालयमा समग्रमा गरी करिब ४० करोड बराबरको छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् ।
गत महिना स्टिम प्रोग्रामअन्तर्गत अमेरिकी सरकारको पूर्ण व्यवस्थापनमा २१ दिने कार्यक्रममा सहभागी भएका ४ विद्यार्थी कृपा बराल, एल्भिना बराल, सुविज्ञा नेपाल र रविना पौडेललाई पनि सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।







