तनहुँ व्यासको मतगणना विवाद सर्वोच्च पुग्यो

-


     क्लिक गण्डकी     
     जेठ २४ गते २०८१ मा प्रकाशित


मतगणना

मतगणना

पोखरा, २४ जेठ/ तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ । सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग गरेका छन् ।

गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकामा पुनः मतगणना हुने फैसला भएको थियो ।

निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ ।

अदालतले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै मिति तोकि दिएको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले धाँधली भएकाले पुनः मतगणनाको माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।