पोखरामा जेष्ठनागरिकका लागि “वाकिङ फुटबल”

-


     क्लिक गण्डकी     
     जेठ ९ गते २०८३ मा प्रकाशित


पोखरामा जेष्ठनागरिकका लागि “वाकिङ फुटबल”

पोखरामा जेष्ठनागरिकका लागि “वाकिङ फुटबल”

पोखरा, ९ जेठ/ उमेरले ७० काटि सक्यो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता झल्कियो । त्यही आत्मियता झल्काउने फुटबल प्रतियोगितालाई पोखरामा भयो । त्यसको नाम थियो “वाकिङ फुटबल” ।

सधैं उमेर समूहले मात्रै प्रतिस्पर्धा गर्ने फुटबल पोखराको मालेपाटनमा भने ७० वर्षदेखि ९२ वर्ष उमेर पुरा गरेको पाकाले खेले । उमेरमा हानेको फुटबलको झल्को मेटाए । मनले बल भेट्यो तर तनले भेट्नै सकेन् यद्यपी प्रयास भने मैदानमा जारी रह्यो । आराम गर्ने उमेरमा बुद्धाहरुको फुटबलको छुट्टै रौनक देखियो । फुटबलको खेल्ने अवसर भने ज्येष्ट नागरिक फुटबल समिति पोखरा ५ मालेपाटनले गरेको थियो ।

सबै पाका उमेरका थिए । शीरमा ढाका टोपी थियो । कोही ट्रयाकमा । कोही हाफ कट्टुमा थिए । समितिले फुटबलको लागि आह्वान गर्यो । ७० जनाले नाम दर्ता गरे । समितिका आर्थिक संयोजक हेमराज भण्डारीका अनुसार ७० वर्षमाथिका उमेर समूहका फुटबलरको नाम दर्ता गरेर चार टिममा विभाजन गर्यौं ।

प्रतियोगिता शुरु हुुनु अघि सबै खेलाडीको स्वास्थ्य परीक्षण गरिएको उनको भनाई थियो । खास गरी सुगर तथा प्रेसर भएकाहरुलाई समावेश गरिएको थियो । स्वास्थ्य परीक्षणमा सामान्य भएका पाका खेलाडीलाई मात्रै टिममा समावेश गरिएको थियो । स्वास्थ्य परीक्षणपछि चार टिम बन्यो—बर, पीपल, आँप र समी । उनले दर्ता भएका पाका खेलाडीहरुलाई गोलाप्रथाबाट टिममा राखिएको बताए ।

टिमको नाम सँस्कृतिसँग जोडियो । वाकिङ फुटबल नेपालमै पहिलो हो । ९२ वर्षिय होमनाथ बरालले पनि उमेरको झल्को दिदैं मैदानमा उत्रिए । उनको उपस्थितिले पनि युवापुस्तलाई खेलकुदप्रति प्रेरित गर्यो । पोखरामा विभिन्न उमेर समूहको फुटबल प्रतियोगिता हुदैं आएका छन् ।

प्रत्येक खेलाडीलाई छाता, ढाकाटोपी, गलबन्दी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको आर्थिक समितिका संयोजक भण्डारीले जनाए । प्रतियोगिताको उदघाटन कर्णेल जेपी क्रसले गरेका थिए । एकैदिन सकिएको फुटबल प्रतियोगिता सम्पन्न गर्न दुई लाख रुपैयाँ खर्च भएको उनको भनाई थियो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता – दुर्गा भण्डारी, उत्कृष्ट खेलाडी हरि अधिकारी, उत्कृष्ट डिफेन्डर भवानी तिमिल्सिना, उत्कृष्ट गोलकिपर पदमनिधि कोइराला, उत्कृष्ट कोच सन्देश पराजुलीले उपाधि जिते । उनीहरुलाई प्रतियोगिताका संयोजक प्रा डा सरोज कोइराला, पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णु प्रसाद बराल, प्रा डा भरत खत्री लगाएतले पुरस्कार प्रदान गरे ।