
लेखनाथलाई पुनः नगरपालिका कायम गर्न माग, “पहिचान, पहुँच र समृद्धिका लागि लेखनाथ पुनस्र्थापनाको विकल्प छैन”
लेखनाथ, १० जेठ / साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने मागसहित आयोजित वृहत अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्।
लेखनाथ पुनस्र्थापना पहल समितिको आयोजनामा आइतबार तालचोकस्थित लेखनाथ पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको संरचनाले लेखनाथ क्षेत्रलाई ओझेलमा पारेको भन्दै अब पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन आवश्यक रहेको बताएका हुन्।
कार्यक्रममा सहभागीहरूले स्थानीय तह पुनःसंरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा विलय गर्नु भौगोलिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले त्रुटिपूर्ण निर्णय भएको बताएका थिए। उनीहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाका कारण स्थानीय जनताले सेवा प्रवाहमा कठिनाइ भोग्नुपरेको, विकास निर्माणमा अपेक्षित प्राथमिकता नपाएको तथा लेखनाथको छुट्टै पहिचान र अस्तित्व कमजोर बनेको गुनासो गरेका थिए।
वक्ताहरूले कास्की जिल्लाको स्थानीय तह पुनःसंरचना अन्य जिल्लाको तुलनामा असन्तुलित रहेको उल्लेख गर्दै पोखरा महानगरपालिकाको क्षेत्रफल, जनसंख्या र प्रशासनिक व्यवस्थापनबीच ठूलो अन्तर देखिएको बताए। उनीहरूका अनुसार महानगरपालिकाको केन्द्रिकृत संरचनाले लेखनाथ क्षेत्रका नागरिकलाई प्रशासनिक पहुँचमा सास्ती दिएको छ भने स्थानीय आवश्यकताअनुसार बजेट तथा योजनाको वितरण हुन सकेको छैन।
कार्यक्रममा बोल्दै साविक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकराम पौडेल ले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म स्थानीय सरकारलाई सबल र जनतासँग नजिक बनाउनु भए पनि व्यवहारमा त्यसको विपरीत अवस्था सिर्जना भएको बताए। उनले स्थानीय तह पुनःसंरचनाको क्रममा लेखनाथलाई पोखरा महानगरपालिकामा विलय गर्नु दूरदृष्टिविहीन निर्णय भएको उल्लेख गर्दै अहिले त्यसको असर विकास, प्रशासन र पहिचानमा स्पष्ट देखिएको बताए।
उनले लेखनाथ क्षेत्र प्राकृतिक स्रोत, आर्थिक सम्भावना र पर्यटनको दृष्टिले आत्मनिर्भर बन्न सक्ने सामथ्र्य बोकेको भूगोल भएको बताए। वेगनास, रूपा लगायतका ताल, कृषि उत्पादन, पर्यटन तथा व्यापारिक सम्भावनाले सम्पन्न क्षेत्रलाई विशाल महानगरपालिकाको सीमित वडामा खुम्च्याउनु अन्यायपूर्ण भएको उनको भनाइ थियो। उनले लेखनाथको गुमेको अस्तित्व बचाउन, समन्यायिक विकास सुनिश्चित गर्न तथा स्थानीय जनताको भावना सम्बोधन गर्न पुनः नगरपालिका स्थापना अपरिहार्य भएको धारणा राखे।
रा.स्व.पा.का अभियन्ता तथा प्रतिनिधि कृष्णराज भुर्तेल ले स्थानीय तहको मुख्य उद्देश्य नागरिकलाई सहज सेवा प्रवाह गर्नु भए पनि अहिले नागरिकले झन् बढी सास्ती खेप्नुपरेको बताए। उनले संघीयताको मर्म जनताको नजिक सरकार पु¥याउनु भएको उल्लेख गर्दै भौगोलिक रूपमा अत्यधिक ठूलो महानगर संरचनाले त्यो उद्देश्य पूरा गर्न नसकेको धारणा व्यक्त गरे। उनले लेखनाथ पुनस्र्थापनाको अभियानलाई जनताको अधिकारसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वराल ले लेखनाथको समृद्धि, पहिचान र विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए। उनले जनताको भावनाभन्दा ठूलो कुनै निर्णय हुन नसक्ने भन्दै लेखनाथवासीको चाहनालाई सम्मान गर्नुपर्ने बताए। उनले कानुनी तथा संवैधानिक व्यवस्था अध्ययन गरी आवश्यक प्रक्रिया पूरा गरेर पुनस्र्थापनाको अभियानलाई अगाडि बढाउनुपर्ने धारणा राखे।
त्यसैगरी नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री ले विगतमा स्थानीय तह पुनःसंरचनाका क्रममा भएका केही निर्णयहरू व्यवहारमा प्रभावकारी हुन नसकेको स्वीकार गरे। उनले संघीयताको भावना अनुसार स्थानीय तह जनउत्तरदायी, पहुँचयुक्त र सन्तुलित हुनुपर्ने बताए। लेखनाथको पहिचान, इतिहास र समृद्धिलाई संरक्षण गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।
एकीकृत समाजवादी तथा माओवादी पक्षका नेता विश्वप्रकाश लामिछाने ले लेखनाथ पुनस्र्थापनाको अभियान कुनै एक दल वा समूहको मात्र विषय नभई समग्र लेखनाथवासीको साझा आन्दोलन भएको बताए। उनले घरघरमा सिंहदरबारको अवधारणा व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकारलाई नागरिकको नजिक ल्याउनुपर्ने धारणा राख्दै अभियानलाई अझ सशक्त बनाउन सबैलाई आग्रह गरे।
कार्यक्रममा सहभागी बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणले पनि लेखनाथको ऐतिहासिक पहिचान, सांस्कृतिक महत्व तथा विकासको सम्भावनालाई जोगाउन पुनः नगरपालिका स्थापना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ ले स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने कानुनी व्यवस्था स्पष्ट गरेको उल्लेख गर्दै संवैधानिक प्रक्रियामार्फत पुनस्र्थापनाको बाटो खुला रहेको बताएका थिए।
वक्ताहरूले वर्तमान अवस्थामा लेखनाथ क्षेत्र विकास, पूर्वाधार, प्रशासनिक पहुँच तथा बजेट व्यवस्थापनमा अपेक्षित प्राथमिकताबाट वञ्चित बनेको दाबी गर्दै अब दवाबमूलक कार्यक्रमसहित अभियानलाई गाउँ–टोलसम्म विस्तार गरिने बताएका छन्।
कार्यक्रममा पुनस्र्थापना पहल समितिका रामहरी ढुंगाना ले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव मुराहरी कोइराला ले गरेका थिए। कार्यक्रममा लेखनाथ क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, युवा, महिला तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।





