
फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल महानगरले भत्कायो
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिकाले फिर्केखोला मापदण्डमा बनेका संरचनाहरु आइतबार देखी हटाउन सुरु गर्ने भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलघर खाली गर्ने सम्बन्धी जारी गरेको ३५ दिने सूचना शनिबारदेखि सकिएको छ । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति, संस्थाहरुलाई पूर्वसूचना दिइ सकिएको आइतबारदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलघर खाली गर्ने कार्य सुरु गरिने महानगरले जनाएको छ ।
महानगरले २०८० साल आषाढमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदन अनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाइनेछ ।
पोखरा–२ र १८ को सिमाना अन्धेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटर स्थित लायन्स भवनदेखि सुरु गरी फेवाताल तर्फ डोजरहरु चल्ने छन् ।
अभियान बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरुको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ ।
फिर्केखोलाको संरक्षण तथा सौन्दर्यकरणको यस अभियानमा सहभागी भई सहयोग गरिदिन पोखरा महानगरपालिका हार्दिक अनुरोध गर्दछ ।





