
त्रिभुवन आर्मी क्लब पाँचौ पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, १८ माघ/ त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश छ । २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै फाइलनमा थ्रीस्टार सँगको भेट पक्का गरेको हो ।
आर्मी पाँचौ पटक फाइनल प्रबेश गरेको हो । आर्मी उपाधि जित्नका लागि पाँच पटकको आहा रारा पोखरा गोल्डकपको उपाधिबाट विजेता थ्रीस्टार सगँ खेल्नेछ । आर्मीले अहिले सम्म आहा राराको उपाधि जित्न सकेको छैन ।
बिहीबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा आर्मी र चर्च ब्वाइज एक एक गोल भएपछि खेल थप समयमा पुगेको थियो । खेलको ६१ औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले आर्मीका लागि गोलको खाता खोलेका थिए ।
आर्मीले करिब ३० यार्ड टाढाबाट पाएको फ्रिकिकमा हेन्जनले गोल गरे । उनले ग्राउण्ड सट प्रहार गरेका थिए । जसलाई चर्च ब्वाइजका किपर सन्तोस महतले रोक्ने मौकै पाएनन् ।
८५ औं मिनेटमा समीर तामाङको गोल मद्दतबाट चर्च ब्वाइज बराबरीमा फर्किएको थियो । खेल सकिन पाँच मिनेटअघि समिर तामाङले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काएका हुन् ।
आर्माीका लागि खेलको ९९ औ मिनेटमा रासबहादुर मगरले गोल गरे । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गर्दै आर्मीलाई २–१ को अग्तरा दिलाए । त्यो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । आर्मी र थ्रीस्टारले उपाधिका लागि शनिबार खेल्ने छन् ।
माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले ६ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् ।





