
दुर्घटना
पोखरा, ७ भदौ / कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
पोखरा–१८ लामागाउँस्थित ग२०प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल पुनः पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग१ख ४३३५ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ निवासी २९ वर्षीया रुपा बिक गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बिक घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको तथा अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनामा संलग्न बस तथा बस चालक अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





